काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच ९० मिनेटसम्म फोनवार्ता भएको ह्वाइट हाउसले जनाएको छ ।
ट्रम्पसँगको कुराकानीमा पुटिनले युक्रेनले रूसी ऊर्जा प्रतिष्ठानहरूमा आक्रमण नगरेमा ३० दिनसम्म युक्रेनी ऊर्जा प्रतिष्ठानहरूमा आक्रमण नगर्न सहमत भएका छन् ।
यद्यपि, युक्रेनी शहरहरू र सैन्य अड्डाहरूमा आक्रमण जारी रहने पुटिनले बताएका छन् । यसका साथै, आज रुस र युक्रेनले आ-आफ्नो हिरासतमा रहेका १७५-१७५ सैनिक आदानप्रदान गर्ने भएका छन् ।
रुसले ३० दिने युद्धविरामको अवधिमा युक्रेनमा सैन्य गतिविधि बन्द गर्नुपर्ने माग गरेको छ । यससँगै ब्लाक सागरमा जहाजहरूको सुरक्षाको मुद्दामा छलफल सुरु हुनेछ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ३० दिने युद्धविराम प्रस्तावमा सहमति जनाएका छन् । रूसले पनि सैद्धान्तिक रूपमा सहमति जनाएको छ। यद्यपि, रुसी उपविदेशमन्त्री अलेक्जेन्डर ग्रुश्कोले युक्रेन तटस्थ स्थितिमा रहनेछ भन्ने ठोस ग्यारेन्टी पाउनुपर्छ र नेटो देशहरूले युक्रेनलाई सदस्यता नदिने वाचा गर्नुपर्ने बताएका छन् ।
गत मंगलबार, अर्थात् मार्च ११ मा, साउदी अरेबियामा अमेरिका र युक्रेनका प्रतिनिधिहरूको बैठक आयोजना गरिएको थियो। यस बैठकमा युक्रेनले ३० दिनको युद्धविराममा सहमति जनाएको छ। यद्यपि, रुसले त्यतिबेला कुनै पनि अस्थायी युद्धविराम अस्वीकार गरेको थियो ।
रुसले पश्चिमी देशहरूसँग बृहत् सुरक्षा सम्झौताको खोजी गरेको छ । यसमा युक्रेनलाई नेटोमा समावेश नगरिने ग्यारेन्टी पनि समावेश छ ।
रुसले विगत तीन वर्षमा युक्रेनको लगभग २० प्रतिशत भूभाग कब्जा गरिसकेको छ । राष्ट्रपति पुटिनले युक्रेनका चार पूर्वी प्रान्तहरू – डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसनलाई रूसमा गाभेका छन् । जबकि रुसको कुर्स्क क्षेत्रमा दुई सेनाबीचको द्वन्द्व जारी छ ।