चैत्र ५,काठमाण्डौं । इजरायली सेनाले गाजा पट्टीमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३ सय ३० जनाको ज्यान गएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा ५० भन्दा बढी बालबालिका र २८ महिला छन् । बीबीसीका अनुसार अधिकारीहरूले गाजापट्टी वरपरका पाँच अस्पतालबाट जानकारी संकलन गर्ने प्रयास गरिरहेको बताएका छन् । पछिल्लो एक घण्टा वा सोभन्दा बढी समय गाजामा तुलनात्मक रूपमा शान्त देखिएको छ ।
तर अस्पतालहरूमा चिकित्सकहरूले २ सय ५० भन्दा बढी घाइतेहरू भेटिएको जनाएका छन् । घाइतेमध्ये केहीको अवस्था निकै गम्भीर रहेको चिकित्सकहरूको भनाइ छ । इजरायल रक्षा बल (आईडीएफ)ले विज्ञप्ति जारी गर्दै हमाससँग सम्बन्धित आतंककारीलाई लक्षित गर्दैु आक्रमण पुनस् सुरु गरेको जनाएको छ । आईडीएफले स्थानीय समयानुसार मंगलबार बिहान २ः०० बजे आक्रमण सुरु गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार मध्य गाजाको देर अल–बलाह, गाजा सिटी, खान युनिस, रफाह लगायतका स्थानमा हवाई आक्रमण गरिएको हो । यो गाजामा जनवरी १९ मा भएको युद्धविरामपछि सबैभन्दा ठूलो हवाई आक्रमण हो । हमासले इजरायलले निहत्था नागरिकहरूमाथि आक्रमण गरेको आरोप लगाएको छ । युद्धविराम उल्लंघन गरेकोमा मध्यस्थकर्ताहरूले इजरायललाई पूर्ण रूपमा जिम्मेवार ठहराउनुपर्ने हमासको भनाइ छ ।
गाजा युद्धविरामको अवधि विस्तार गर्न पछिल्ला दिनमा भएका वार्ता असफल भएका छन् । हमासले बन्धकहरू रिहा गर्न बारम्बार अस्वीकार गरेको र युद्धविराम विस्तार गर्ने प्रस्तावहरू अस्वीकार गरेकाले आक्रमण सुरू गरेको इजरायलको भनाइ छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले आईडीएफले अबदेखि हमासविरुद्ध बढ्दो सैन्य शक्तिका साथ कारबाही गर्ने बताएको छ ।
यसअघि इजरायली प्रधानमन्त्रीको कार्यालयको एक विज्ञप्तिमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल कात्जले मंगलबार बिहान हवाई आक्रमणका लागि आदेश दिएकोु उल्लेख छ । हमासले हाम्रा बन्धकहरू मुक्त गर्न निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेषदूत स्टीभ विटकफ र मध्यस्तकर्ताहरूले राखेको प्रस्तावको अस्वीकृति पछिको प्रतिक्रिया हो, विज्ञप्तिमा भनिएको छ, अबदेखि इजरायलले हमासविरुद्ध बढ्दो सैन्य शक्तिको प्रयोग गर्नेछ ।
आक्रमणको योजना ुआईडीएफले सप्ताहन्तमा प्रस्तुत गरेको र राजनीतिक नेतृत्वले स्वीकृत गरेकोु भनिएको छ । पहिलो चरणको अस्थायी युद्धविरामको अवधि १ मार्चमा समाप्त भएपछि, वार्ताकारहरूले अर्को कदमको खोजी गर्दै थिए । अमेरिकाले युद्धविरामको पहिलो चरणलाई मध्य(अप्रिलसम्म विस्तार गर्ने प्रस्ताव गरेको थियो, जसमा हमासद्वारा बन्धकहरूको मुक्ति र इजरायलद्वारा प्यालेस्टिनी बन्दीहरूको थप रिहाइ समावेश थियो । तर, वार्तामा संलग्न एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार इजरायल र हमासबीच उक्त सम्झौतामा केही महत्त्वपूर्ण बुँदामा असहमत भएका छन् ।