• चैत्र ५ २०८१, बुधबार

मोदीले खोले ट्रम्पको सामाजिक सञ्जालमा खाता

चैत्र ४ २०८१, मंगलवार

चैत्र ५, काठमाण्डौं नयाँदिल्ली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसियलमा खाता खोलेका छन् । खाता खोलेलगत्तैको पहिलो पोस्टमा मोदीले सन् २०१९ को अमेरिकी भ्रमणका क्रममा टेक्सास राज्यको ह्युस्टनमा ट्रम्पसँग खिचेको तस्बिर सार्वजनिक गरेका छन् । उक्त पोस्टमा मोदीले ट्रुथ सोसियल प्लाटफर्ममा जोडिन पाउँदा ‘खुशी’ लागेको उल्लेख गरेका छन् ।

जो बाइडेनसँग राष्ट्रपतीय चुनाव हारेपछि ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाउँदै ट्विटर (हाल एक्स) र फेसबुक जस्ता प्रमुख सामाजिक सञ्जालहरूले अस्थायी रूपमा प्रतिबन्ध लगाएका थिए । त्यसलगत्तै ट्रम्पले फेब्रुअरी २०२२ मा आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसियल सुरू गरेका हुन् । मंगलबार बिहानसम्म ट्रुथ सोसियल मोदीलाई पछ्याउने प्रयोगकर्ताको संख्या २१ हजार ५ सय नाघिसकेको छ । उनले ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई फलो गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पोडकास्टर लेक्स फ्रिडम्यानसँगको मोदीको अन्तर्वार्ताको लिंक सेयर गरेका छन् । उक्त अन्तर्वार्तामा भारतीय प्रधानमन्त्रीले आफ्नो जीवन यात्रा, २००२ को गुजरात दंगा र चीनसँगको भारतको सम्बन्धलगायत विभिन्न विषयहरूमा बोलेका छन् । प्रयोगका हिसाबले ट्रुथ सोसियल धेरै हदसम्म एक्स जस्तै छ । प्रयोगकर्ताहरूले सत्यु वा सत्यु पोस्ट गर्न र प्रत्यक्ष सन्देशहरू पठाउन सक्छन् । प्लाटफर्ममा विज्ञापनहरूलाई प्रायोजित सत्यु भनिन्छ ।

ट्रुथ सोसियल ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी) को स्वामित्वमा छ । ट्रम्पले मार्च २०२४ मा पब्लिक कम्पनीमा रुपान्तरण गरे । कम्पनीमा हाल उनको करिब ५७ प्रतिशत शेयर स्वामित्व छ । ट्रुथ सोसियलमा कुवेतमा मुख्यालय रहेको लगानी फर्म एआरसी ग्लोबल इन्भेस्टमेन्ट्स र अपरेन्टिसका केही पूर्व प्रतिस्पर्धीहरूको पनि ठूलो हिस्सा छ । राष्ट्रपति ट्रम्पका ट्रुथ सोसियलमा ९० लाख २८ हजार फलोअर्स छन् ।

तर एक्समा उनका ८ करोड ७० लाख फलोअर्स छन् । ब्लूमबर्गका अनुसार ट्रुथ सोसियलको ट्राफिक यसका प्रतिस्पर्धीहरूको तुल्नामा न्यून नै छ । यसको कुल प्रयोगकर्ता संख्या एक्स भन्दा ४ सय गुणाले पछाडि छ । टीएमटीजीले सन् २०२४ मा ४० करोड अमेरिकी डलरको घाटा व्यहोरेको थियो । यसको बजार मूल्यांकन हाल ४ अर्ब ४५ करोड डलर छ ।