• चैत्र १९ २०८१, बुधबार

निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन : भनसुन र पहुँचका आधारमा विद्यार्थी भर्ना नगर्नू

चैत्र ४ २०८१, मंगलवार

५ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ठूला निजी विद्यालयहरूलाई भनसुन र पहुँचका आधारमा विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ । शिक्षामन्त्री विद्या भट्टराईले मंगलबार निजी विद्यालयका प्रमुखहरूलाई भर्ना, शुल्क, छात्रवृत्रि र शिक्षक कर्मचारीको सामाजिक सुरक्षा निश्पक्ष रुपमा गर्न निर्देशन दिएकी हुन् ।

छलफलमा सेन्ट मेरिज, सेन्ट जेभियर्स, रातो बंगला, बूढानीलकण्ठ स्कुल, एसओएस बालग्राम, नेपाल सैनिक विद्यालय, नेपाल प्रहरी स्कुल र गण्डकी बोर्डिङ स्कुलका प्रमुखहरूसँग मन्त्री भट्टराईले छलफल गरेकी थिइन् । भर्नाको समयमा ठूला स्कुलमा सोर्स फोर्स हुने गरेको र पहुँको आधारमा भर्ना हुने गरेको गुनासो आउने गरेको छ । यसलाई व्यवस्थित गर्न मन्त्रालयले भनेको हो ।

मन्त्री भट्टराईले समान अवसर प्रदान गर्ने भर्ना प्रणाली लागु गर्न, भर्ना प्रक्रिया पूर्ण रूपमा पारदर्शी बनाउन र सबैको पहुँच सुनिश्चित गर्दै वर्ग विभाजन हुन नदिने कुरामा ख्याल गर्न विद्यालयहरूलाई निर्देशन दिएकी छिन् । मन्त्री भट्टराईले छात्रवृत्रि वितरणलाई पारदर्शी र सरकारी नियम अनुसार कार्यान्वयन गर्न आग्रह गरेकी छिन् ।

छलफलमा सेन्ट मेरिज स्कुलले नगरपालिकाको निर्देशन अनुसार गोला प्रथाबाट भर्ना लिने गरेको र स्थानीय पालिकाको सिफारिसमा छात्रवृत्रि दिने गरेको स्पष्ट पारेको छ । बूढानीलकण्ठ स्कुलले ३० प्रतिशत विद्यार्थीलाई छात्रवृत्रि दिइरहेको तर सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको बताएको छ ।

एसओएस बालग्रामले न्यून शुल्कमा शिक्षा प्रदान गरिरहेको र सहयोगको अपेक्षा गरेको बताएको छ । रातो बंगलाले भर्ना प्रक्रिया विद्यालयको स्वविवेकमा हुनुपर्ने धारणा राख्दै विपन्न विद्यार्थीलाई आवासीय सुविधा दिइरहेको बताएको छ । सैनिक विद्यालयले सेनाका सन्तति र सर्वसाधारणका लागि सिट निर्धारण गरिएको र कल्याणकारी कोषबाट सञ्चालनमा सहयोग पुगिरहेको बताएको छ । गण्डकी बोर्डिङ स्कुलले भौतिक पूर्वाधार जीर्ण रहेको र शिक्षक टिकाउन कठिन भएको गुनासो गर्दै छात्रवृत्तिको व्यवस्था रहेको जानकारी दिएको छ ।