काठमाडौं । गोरखाको प्रभात किरण माध्यमिक विद्यालयको नयाँ कक्षाकोठा भवनको हस्तान्तरण समारोह मार्च १८ अर्थात् वि.सं चैत्र ५ गते सम्पन्न भएको छ । नेपालका लागि जापानका कार्यवाहक राजदूत तमुरा ताकाहिरोले समारोहमा भाग लिएका थिए ।
नयाँ कक्षाकोठा भवन जापान सरकारद्वारा समर्थित जापानी गैरसरकारी संस्था परियोजनाहरूको लागि अनुदान सहायता अन्तर्गत निर्माण गरिएको हो । यो परियोजना जापानी गैरसरकारी संस्था चाइल्ड फन्ड जापानद्वारा कार्यान्वयन भइरहेको छ । हाल तीन वर्षे परियोजना अन्तिम वर्षमा छ ।
यस परियोजनाले गोरखामा सिकाइ वातावरण सुधार गर्ने र विद्यार्थीको उपस्थिति बढाउने लक्ष्य राखेको छ । कक्षाकोठा भवनहरू निर्माण गरेर मात्र होइन शिक्षकहरूको क्षमता सुधार गर्न तालिम प्रदान गरेर र बालमैत्री विद्यालयहरूको स्थापनालाई सहयोग गर्ने कार्यक्रमहरू पनि प्रदान गर्ने लक्ष यस परियोजनाले राखेको छ ।
यस अवसरमा राजदूत तामुराले परियोजनामा संलग्न सबैको प्रयासलाई बधाई र प्रशंसा गरे । उनले नयाँ विद्यालय भवनको उचित व्यवस्थापन र मर्मतसम्भार हुने, विभिन्न तालिम कार्यक्रमहरू जारी रहने र भविष्यमा विद्यालयमा सिकाइ वातावरण अझ बढी बालमैत्री हुने आशा व्यक्त गरे ।
तामुराले यस विद्यालयका विद्यार्थीहरूले जापान र नेपालबीचको जनता–जनता बीचको सम्बन्धका साथै भविष्यमा नेपालको विकासमा अग्रणी भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गरे ।