५ चैत, गाजा । इजरायली सेनाले गाजा पट्टीमा ठुलाे आक्रमण गरिरहेको बताएको छ । हमासको स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु भएको बताएको छ ।
यसअघि, इजरायल रक्षा बलले एक विज्ञप्तिमा आफूहरूले हमासको ‘आतंकवादी लुक्ने ठाउँहरू’ लाई लक्षित गरिरहेको भनेको थियो । गाजाका आन्तरिक मामिला उपमन्त्री तथा हमासका एक वरिष्ठ सैन्य कमाण्डर महमूद अबु वफाह पनि सोही आक्रमणमा मारिएको बताइएको छ ।
जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठुलो आक्रमण हो । प्रत्यक्षदर्शीहरूले गाजामा मानिसहरू खाना खाइरहेका बेला आक्रमण सुरु भएको बताएका छन् । उनीहरूका अनुसार आकाशमा २० भन्दा बढी इजरायली लडाकु विमानहरू देखिए ।
चाँडै नै ती लडाकु विमानहरूले गाजा सहर, रफाह र खान युनिसमा आक्रमण गर्न थाले । इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायलले मंगलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए ।
‘हाम्रा बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कोच र अन्य मध्यस्थकर्ताहरूले गरेका प्रस्तावहरूलाई अस्वीकार गरेपछि यो आक्रमण भएको हो,’ विज्ञप्तिमा भनिएको छ ।