४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले गैरआवासीय नेपालीलाई भिसा दिने प्रावधान आपत्तिजनक रहेको टिप्पणी गरेकी छिन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको प्रतिस्थापन विधेयक’माथिको दफावार छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएकी हुन् ।
गौतमले बाध्यता र अन्य कारणले बाहिर रहेका तथा आफ्नो जीवन चलाउने क्रममा गैरआवासीय भएका नेपालीलाई १० वर्ष फ्रि भिसा दिने व्यवस्था कुनै बहादुरीको काम नभएको जिकिर गरिन् । गैरआवासीय नेपालीको नाता देशसँग टुट्दा घाटा नेपाललाई नै हुनेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘यसले कसैलाई फाइदा गर्दैन । उहाँहरूलाई देशसँगै जोड्नुपर्छ । देश राम्रो हुँदा फर्किने वातावरण हुन्छ ।
त्यसैले दूरी नबनाऔं ।’ रेमिट्यान्स र लगानीका क्षेत्रमा नेपालीहरूको ठूलो हात रहेको भन्दै उनले गैरआवासीय नेपालीलाई भिसा दिने कुराले धेरैलाई चिढ्याउनसक्ने पनि जिकिर गरिन् । ‘अर्काे नेपालभन्दा बाहिरका नेपाली समुदायमा धेरै राजनीति भएको सुनिन्छ । अनि नेताहरू गैरआवासीय नेपालीहरूलाई फकाउन गएको पनि सुनिन्छ । देशमा राजनीति गर्न उहाँहरूलाई फकाउन जाने, अनि उहाँहरूलाई भिसा दिने कुराले झन् धेरै चिढ्याउँछ होला,’ गौतमले भनिन् ।
साथै, उनले भिसा निःशुल्क नभई आवश्यक प्रावधान चाहिँ राख्नुपर्ने तर्क गरिन् । ‘जोसँग एनआरएन नागरिकता छ, उहाँहरूलाई भिसा नै नहुने प्रावधान आवश्यक छ,’ उनले भनिन् । सरकारले विधेयकमा ‘नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिक वा निजको परिवारलाई दश वर्षसम्मको गैरआवासीय नेपाली भिसा निःशुल्क उपलब्ध गराइने’ भनेको छ ।
सांसद गौतमले यसमा ‘नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिकलाई नेपाल प्रवेश गर्न भिसाको आवश्यकता पर्ने छैन’ भनेर संशोधन पनि राखेकी छिन् ।