चैत ४, काठमाडौं । माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपाली कांग्रेसका सचेतक श्याम घिमिरेले आइतबार प्रतिनिधिसभामा राखेको धारणा रेकर्डबाट हटाउन माग गरेकी छन् ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पर्यटक भित्र्याउन नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । सो भनाइ हटाउन माओवादी सांसद राईले सोमबारको बैठकमा रेकर्डबाट हटाउन माग गरेकी हुन् ।
‘सत्तापक्षका माननीयज्यूले यौन व्यवसायलाई कानुन बनाई मान्यता दिएर पर्यटकलाई आकर्षण गरी अर्थोपार्जन गरौँ भन्ने कुरा दोस्रोपटक यस सम्मानित संसदमा उठाउनु आपत्तिजनक विषय हो । यस्तो चिन्तनको घोर विरोध गर्दछु ।
यस्ता विचारले अनुशासित र मर्यादित रूपमा रहेको समाजलाई अराजकतातिर पुर्याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउन सभामुखबाट रुलिङको माग गर्दछु,’ उनले भनिन्, ‘साथै, सभामुख महोदय सम्बन्धित माननीयज्यूलाई प्रश्न गर्न चाहन्छु– त्यस्तो कार्य गर्न आफ्नो परिवारबाट अघि सार्न आँट गर्नुहुन्छ ?’
संसदमा प्रश्न –यौन व्यवसाय गर्न आफ्नो परिवारबाट अगाडि बढाउन आँट गर्न सक्नुहुन्छ ?