• जेष्ठ १ २०८२, बुधबार

भारतले पिक आवरमा विजुली कटौती गर्दा औद्योगिक क्षेत्रमा लोडसेडिङको तालिका बढ्ने

चैत्र १ २०८१, शनिबार

काठमाडौँ । भारतले नेपाललाई दिँदै आएको बिजुली पिक आवर अर्थात् साँझ ५ बजेदेखि ९ बजेसम्म बिजुली कटौती गर्ने भएको छ । साँझको पिक आवरमा भारतले बिजुली नदिँदा नेपालमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ । औद्योगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ बढेर १२ घण्टासम्म पुग्न सक्ने देखिएको छ ।

आइतबारदेखि भारतबाट बिहान ६ बजेदेखि साँझ ६ बजे (१२ घण्टा) सम्म मात्रै विद्युत् आयात हुनेछ । हाल नेपालमा लोडसेडिङ अन्त्यका लागि भारतबाट दैनिक २० घण्टासम्म आयात भइरहेको छ । मार्च १५ अर्थात् चैत ३ गतेबाट मार्च ३० अर्थात् चैत १७ गतेसम्म भारतले पिक आवरमा बिजुली कटौती गर्ने निर्णय गरिसकेको छ ।

गत वर्ष जस्तै यो वर्ष पनि सोलर आवरमा ढल्केभर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट कारोबार हुने गरी ६ सय मेगावाट बिजुली किन्ने जनाएको छ । गत वर्ष पनि सरकारको समन्वयमा प्राधिकरणको आइइएक्सबाट ढल्केभर–मुजफ्फरपुर प्रसारण लाइनबाट ५ सय मेगावाट बिजुली आयात गर्ने स्वीकृत पाएको थियो । नेपालले भारतको उक्त प्रतिस्पर्धी बजारबाट २०७८ वैशाखबाट बिजुली किन्ने अनुमति पाएको हो । उक्त सम्झौता हरेक वर्ष नवीकरण हुँदै आएको छ ।

पिक आवरमा बिजुली कटौती गर्दा त्यसको असर आम उपभोक्ता अथवा औद्योगिक क्षेत्रमा पर्न सक्छ । हाल औद्योगिक क्षेत्रमा विद्युत् कटौती गरेर नेपाल विद्युत् प्राधिकरणले आम उपभोक्तालाई बिजुली दिँदै आएको छ । भारतबाट आयात हुने बिजुली बन्द हुँदा त्यसको थप मार औद्योगिक क्षेत्रमा पर्न सक्ने देखिन्छ । अब औद्योगिक क्षेत्रमा थप पाँच घण्टा लोडसेडिङ थपिँदा १२ घण्टासम्म लोडसेडिङको मार खेप्नुपर्ने हुन्छ ।

भारतले नेपालसँगको सम्झौता अनुसार सोलर आवरमा मात्रै बिजुली दिन लागेको नेपाल विद्युत् प्राधिकरणका लोड डिस्प्याच सेन्टरका प्रमुख चन्दनकुमार घोष बताउँछन् । उनका अनुसार भारतले पिक आवर साँझको समयमा बिजुली नदिए पनि आम उपभोक्तामा त्यसको कुनै असर नपर्ने बताउँछन् ।

प्राधिकरणका अनुसार अहिले भारतले पिक आवरमा बिजुली नदिए पनि त्यसको व्यवस्थापन गर्ने तयारी भइरहेको छ । नेपालमा हाल माग घटिरहेको र उत्पादन बढिरहेका बेला भारतले १५ दिनको समयमा विद्युत् कटौती गरे पनि त्यसको विकल्पको विषयमा पनि सोचेको जनाएको छ । प्राधिकरणले विकल्पको रूपमा मकवानपुरको कुलेखानी सञ्चालन ल्याउने तयारी थालेको छ भने अन्य वैकल्पिक उपायको पनि खोजी गरिरहेको छ ।

औद्योगिक क्षेत्रमा यो पटक मात्रै होइन गत वर्षको हिउँदमा पनि ८ घण्टा लोडसेडिङ गरेको थियो । तर सो समय र अहिले भने केही फरक रहेको प्राधिकरणका एक अधिकारीले गोल खबरसँग बताए । गएको हिउँदमा पनि भारतले पिक आवरमा बिजुली कटौती गर्दा लोडसेडिङ गर्नु परेको थियो । यो पटक भने केही जलविद्युत् आयोजनामा मर्मत सम्भारको काम भइरहेको कारण यो पटक लोडसेडिङ थप ४ घण्टा बढ्न लागेको हो । ‘अन्य समयको तुलनामा हिउँदको उत्पादन ३० प्रतिशतभन्दा तल झर्ने गर्छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘उत्पादन घट्दा स्वाभाविक रूपमा लोडसेडिङ गर्नुपर्ने हुन्छ त्यसको प्रभाव सिधै औद्योगिक क्षेत्रमा पर्ने नै भयो ।’

नेपालमा कुलेखानी १०० मेगावाटबाहेकका जलाशययुक्त जलविद्युत् आयोजना छैन । ३००० मेगावाट जडित क्षमता पुगे पनि गएको हिउँदमा आन्तरिक माग पूरा ६०० मेगावाट आयात गरिएको थियो । केही समयअघिको मनसुनका कारण माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रमा बाढीले क्षति पु¥याउँदा पूर्ण रूपमा सञ्चालन हुन नसकिरहेकाले पनि प्राधिकरणलाई बिजुली पु¥याउन गाह्रो पर्ने देखिन्छ ।

नेपालमा भारतले बिजुली आपूर्ति पिक आवरमा रोक्ने विषय यसअघि नेपाल र भारतबिच फेब्रुअरीमा प्रोजेक्ट स्टेरिङ कमिटी (पिइसि) को बैठकपछि नेपालसँगको सम्झौता अनुसार भएको हो । उक्त बैठकमा भारतले मार्च १५ तारिखदेखि जुन ३० तारिखसम्म सोलर आवरमा मात्रै बिजुली दिने प्रस्ताव गरेको हो । साथै उक्त बैठक २०२५/२६ का लागि विद्युत् महसुल दर समेत तोकेको छ । सोही बैठकले नेपालले चाहेका बेला आयात गर्दा तिर्नुपर्ने दर तोकेको हो । निर्यात गर्दा समेत उक्त दर लागु हुने दाबी गरिएको छ ।

नयाँ दर अनुसार सन् २०२५ को अप्रिलबाट २०२६ को मार्च सम्मका लागि १३२, ३३ र ११ केभी प्रसारण लाइनमार्फत आदान÷ प्रदान गरिने विद्युत्को प्रतियुनिट दर क्रमशः ८.१०, ८.७८ र ९.४१ भारतीय रुपैयाँ तय गरिएको थियो । विगतका वर्षहरूमा औसत रूपमा ५.५ प्रतिशत मूल्यवृद्धि हुने गरेकोमा यस वर्षको बैठक सन् २०२४ अप्रिलदेखि २०२५ मार्चसम्मका लागि तय गरिएको दरमा १.५ प्रतिशत मात्र वृद्धि हुने व्यवस्था गरिएको छ ।

दुई देशबिचको बैठकले विद्युत् महसुलको विषयमा हेरफेर गर्ने निर्णय गरेको भए पनि सो महसुलको विषय नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिबाट अनुमोदन र विद्युत् नियमन आयोगबाट स्वीकृत भएमा लागू हुनेछ । दुई निकायबाट स्वीकृत भएमा २०२५ अप्रिलबाट नयाँ दर लागू हुनेछ । तर, लामो समयदेखि सञ्चालक समितिको बैठक नै बस्न सकिरहेको छैन ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भारतसँग महँगोमा बिजुली किन्ने सहमति गरेको भन्दै यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पष्टीकरण समेत सोधिसकेको छ । घिसिङले स्पष्टीकरणको जवाफसमेत दिइसकेका छन् । हाल बिहारको रक्सौल–परवानीपुर र उत्तर प्रदेशको मैन हिया–सम्पत्तिया १३२ केभी प्रसारण लाइनबाट पिक समयमा दैनिक करिब १९० मेगावाट विद्युत् आयात गरिएको छ । अन्य समयमा भारतीय इनर्जी एक्सचेन्जबाट प्रतिस्पर्धाबाट विद्युत् आयात हुँदै आएको छ ।