काठमाडौं । समाजवादी मोर्चाले राजावादीहरूविरुद्ध सशक्त प्रतिवाद गर्न जरुरी रहेको निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले गणतन्त्रको रक्षा गर्न सबै दलहरूले राजावादीविरुद्ध प्रतिकार गर्न आवश्यक रहेको स्पष्ट पारेको हो ।
देश र जनताको हित विपरीत अहिले राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र भइरहेको मोर्चाको भनाइ छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवं जनताको हित विपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्त्वहरू लागिपरेका छन् । यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु बर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ,’ मोर्चाले चार बुँदे विज्ञप्तिमा भनेको छ ।
राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रबैया र गतिविधिका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गएको मोर्चाको दाबी छ । राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको मोर्चाको भनाइ छ ।
‘भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ । नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ । लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ । अध्यादेशमार्फत् सरकार चलाउने, सदनलाई छल्ने र संसदमा दर्ता भएका महत्पूर्ण विद्येयकहरू नियन्त्रण गरी राख्नेमा उद्धत छ । सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीब्ररुपमा बढ्दै गएको छ । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको छ,’ मोर्चाले भनेको छ ।