• चैत्र २ २०८१, आईतवार

भूमिगत कालमै दरबार हत्याकाण्डको छानबिन हुनुपर्ने माग गर्दै आएको थिएँ : प्रचण्ड

चैत्र १ २०८१, शनिबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको कुरा आफूले भूमिगत कालदेखि नै उठाउँदै आएको र त्यसको छानबिन हुनुपर्ने बताएका छन् । शनिबार समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘दरबार हत्याकाण्डबारे छानबिन हुनुपर्छ भने कुरा पहिलादेखि भन्दै आएको हुँ र त्यो अझै कायम रहेको छ । जनताको भाषा मैले बोलेको हुँ ।’

उनले समाजवादी मोर्चा प्रचण्डका लागि सरकारमा जाने टेको भएको भन्ने गलत हल्ला फैलिएको बताउँदै मोर्चाका लागि प्रतिवेदन तयार गर्न समय लागेका कारण बैठक बस्न ढिलो भएको बताए । समाजवादी मोर्चा जे उद्देश्यले गठन भएको हो त्यही उद्देश्यमा अगाडि बढिरहेको समेत उनले बताए ।

समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने रहेको बताउँदै अध्यक्ष प्रचण्डले वैज्ञानिक समाजवाद स्थापना गरी जनताको जीवनमा परिवर्तन ल्याउने गरी मोर्चाले नयाँ सङ्कल्प लिएको उनले बताए ।

‘ग्रामीण अर्थतन्त्रको विकास कसरी गर्ने, जनताको जीवनमा कसरी परिवर्तन गर्ने त्यसको लागि मोर्चा अगाडि बढेको छ’ उनले भने । उनले गणतन्त्र पक्षधरहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको समेत बताए ।

सरकारमा रहँदा उठाइएको भ्रष्टाचार र सुशासनका कुरा अझै आफूले उठाइरहेको बताउँदै अध्यक्ष प्रचण्डले जनताको कुनै पनि हकलाई नमारिएको बताए । सबैको धर्म र परम्परालाई रक्षा गर्ने काम गरिरहेको समेत उनले बताए ।

आदिवासी जनजाति, महिला, मुस्लिम लगायतले पाएको अधिकारको रक्षा गर्दै थप अधिकारका लागि सङ्घर्ष सुरु गरिएको बताउँदै उनले एउटा धर्म, संस्कृतिलाई काखी च्याप्ने काम कसैबाट हुन नहुने उनको भनाई थियो ।

माओवादी केन्द्रले सुरु गरेको तराई मधेस जागरण अभियान रोकिएको नभई स्थगित गरिएको बताउँदै उनले चाँडै नै पुनः सुरु हुने उनले बताए । सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन धेरैको रगत बगेको बताउँदै अध्यक्ष प्रचण्डले त्यसका विरुद्धमा कसैले गलत क्रियाकलाप गरेमा सतर्क हुन आफूहरूको कर्तव्य रहेको समेत बताए ।

‘गणतन्त्रमाथि कसैले धावा बोल्छ भने त्यसको प्रतिकार गर्ने हाम्रो कर्तव्य हो’ उनले भने, ‘नेपालको इतिहासमा राजतन्त्रलाई अन्त्य गरी जनताको सार्वभौमसत्ता कायम गरिएको छ जनताको सार्वभौमसत्तामाथि कसैले धावा बोल्यो भने चुप लागेर बस्दैनौँ ।’

अर्को एक प्रसङ्गमा उनले विशिष्ट व्यक्तिलाई सेवा सुविधा दिने विधेयक ल्याउने कुरा बेमौसमी बाजा भएको टिप्पणी गरे । अध्यक्ष प्रचण्डले भने, ‘यसको बारेमा कहीँ कतै छलफल भएको छैन ।’

नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले वंशवादमा शासन चलाएकाहरूबाट देशलाई मुक्त गरी देशलाई समाजवादी गणतन्त्रमा लैजाने बताए ।

समाजवादी गणतन्त्रमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको बताउँदै उनले व्यवस्था परिवर्तन गरेर देशलाई अग्रगमनतिर लैजाने तयारीमा रहेकाले सबैले सहयोग हुनुपर्ने बताए ।