• चैत्र २ २०८१, आईतवार

शिक्षकहरुको मागप्रति सरकार गम्भीर हुनुपर्ने प्रचण्डको चेतावनी

चैत्र १ २०८१, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीररूपमा लिनुपर्ने बताएका छन् ।

विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष प्रचण्डले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने बताए ।

विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गर्न चुनौतीपूर्ण रहेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले विधेयकलाई तत्काल पारित गर्न जोड दिए ।

‘अहिले जे–जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ,’ उनले भने, ‘तर, मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकको विषय सरकारको प्राथमिकतामा नपर्दा यसमा ढिलाइ भएको छ ।’

शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष प्रचण्डले देशको विकास र समृद्धिको मुख्य आधार शिक्षा नै भएकोमा जोड दिए ।

‘शिक्षा भौतिक पूर्वाधारको पनि पूर्वाधार हो । विकासले गति नलिनु, अराजकता फैलिनु, नैतिक मूल्यमा ह्रास आउनुको मुख्य कारण शिक्षाबारे सही र एकरूप बुझाइ नहुनु हो,’ उनले भने, ‘म सरकारमा हुँदा विद्यालय शिक्षा सुधारसम्बन्धी विज्ञको प्रतिवेदन संकलन गर्नै धेरै समय लाग्यो । पछि त्यसलाई कार्यान्वयन गर्न खोजिए पनि अहिले सरकारले अघि बढाउन खोजेको छैन ।’

अध्यक्ष प्रचण्डले शिक्षक महासंघले उठाएका विषयमा सडक र संसद दुवै ठाउँबाट पार्टीले सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरूले प्रचण्ड नेतृत्वको सरकारले नै विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएको स्मरण गराउँदै विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहनेमा जोड दिए ।

‘डु एण्ड डाइ’को अवस्थामा छौं,’ शिक्षक महासंघका प्रतिनिधिहरूले भने, ‘विगतमा पनि शिक्षकका मागमा माओवादी र प्रचण्ड सतिसालझैँ उभिनुभयो । यसपटक पनि काँध थाप्न अनुरोध छ । माओवादीले संसदमा दबाबमूलक भूमिका खेलोस् ।’