• चैत्र १ २०८१, शनिबार

एलन मस्कको स्टारलिंक इन्टरनेट भुटानमा सुरु, नेपाल र भारतले कहिले सुरु गर्छन् ?

चैत्र १ २०८१, शनिबार

काठमाडौं । विश्वकै धनाढ्य व्यवसायी एलन मक्सको स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक भुटानमा सुरु भएको छ । उनको कम्पनी स्पेस एक्सले भुटानमा यो इन्टरनेट सुरु गरेको कुरा बीबीसीले जनाएको छ ।

यो सेवा भारतमा पनि सुरु गर्न लागिएको छ । भारतका दुई दूरसञ्चार सेवा प्रदायक (एयरटेल र रिलायन्स जिओ) सँग समझदारी गरिसके पनि सेवा सुरु भने हुन बाँकी छ । स्पेस एक्सले दुई वर्षअघि नै नेपालमा स्टारलिंक सुरु गर्न चासो व्यक्त गरेको थियो । तर सरकारले कुनै पनि चासो दिएको छैन । अहिले नेपाल आफै राजनीतिक संकटमा परेकाले एलन मस्कको इन्टरनेट सेवा भित्राउन बाटो खोल्ने गुञ्जायस देखिन्न ।

मस्कको कम्पनी नेपालमा स्याटलाइट इन्टरनेट सेवा दिन इच्छुक रहेको बताउँदै आए पनि नेपालका सरकारी अधिकारीहरु यससम्वन्धमा कुनै जवाफ दिनसक्ने अवस्थामा छैनन् ।

भारती एयरटेल र रिलायन्सले स्टारलिंक सुरु गर्न लागेको बारेमा जानकारी गराएका छन् । एयरटेलले भनेको छ, ‘एयरटेल भारतमा रहेका आफ्ना ग्राहकहरूलाई स्टारलिङ्कको उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन स्पेसएक्ससँग सम्झौताको घोषणा गर्छ । यो भारतमा हस्ताक्षर भएको पहिलो यस्तो सम्झौता हो । यो भनेको स्पेसएक्सलाई भारतमा स्टारलिङ्कको सेवो बेच्नका लागि आधिकारिता प्राप्त भएको विषय हो ।’

स्पेसएक्सले पाकिस्तानमा नियामकको अनुमति लिन बाँकी रहेको जनाएको छ भने बाङ्ग्‌लादेश र श्रीलङ्कामा यसै वर्षभित्र सञ्चालन हुने जनाइएको छ । तर नेपालको हकमा भने सो कम्पनी मौन छ । त्यसै वर्ष स्पेस एक्सले आफ्नो वेभसाइटमा स्टारलिङ्कले इन्टरनेट सेवा आरम्भ गर्न चाहेको मुलुकहरूलाई सूचीकृत गर्दा नेपाललाई पनि राखेको थियो ।

यतिबेला नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी आफै संकटमा छन् । न उनी काम गर्नसक्ने अवस्थामा छन् न संस्था छोड्न सक्छन् । पूर्ववर्ती माओवादी सरकारको पालामा नियुक्त भएका भण्डारीलाई हालका सञ्चार तथा सूचना प्रविधिमन्त्रीले राजीनामा दिन संकेत गर्दा पनि अटेर गरेर बसेका छन् । स्टारलिंक आउँदा कसरी अनुमति दिने भन्ने कुरामा पनि प्राधिकरण र सरकार स्पष्ट छैन ।

बीबीसीका अनुसार स्टारलिङ्कको स्याटलाइट कक्षको तल्लो तहमा राखिएको छ । अन्य स्याटलाइट जिओस्टेशनमा माथि छन् । दूरीका हिसाबले धेरै तल भएकाले स्टारलिङ्क इन्टरनेटले उच्च गतिमा सेवा दिन सक्छ । यो प्रविधिमा स्याटलाइटबाट सीधा सम्पर्क स्थापित हुन्छ । त्यसले हाल उपलब्ध स्याटलाइट इन्टरनेटको तुलनामा स्टारलिङ्क निकै सस्तो पर्नसक्ने ब्रोडब्यान्ड इन्टरनेट भन्दा भने महँगो पर्ने बताइन्छ ।