चैत्र १, काठमाण्डौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र विद्रोहीले रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये कम्तीमा ३ सय ४६ यात्रुलाई सुरक्षाकर्मीले मुक्त गराएका छन । पाकिस्तानी सेनाले बन्धक मुक्त गराउने क्रममा ३३ विद्रोहीे मारिएका र उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको जनाएको छ । पाकिस्तानी सेनाका अनुसार आक्रमणकारीविरुद्ध सुरक्षा कारबाही सुरु हुनुअगाडि नै रेलमा सवार २७ सर्वसाधारण र चार सैनिकको मृत्यु भएको थियो ।
तर पाकिस्तानी सञ्चारमाध्यमले कम्तीमा ३० सुरक्षाकर्मी मारिएको उल्लेख गरेका छन्उद्धारका क्रममा घाइते भएका ३७ यात्रुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । पाकिस्तानी रेल अधिकारीका अनुसार रेलमा ४ सय ४० यात्रु थिए । पाकिस्तानी सेनाले उक्त घटनाका योजनाकारहरू अफगानिस्तानमा रहेको आरोप लगाएको छ । विद्रोही समूह बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) ले मंगलबार क्वेटाबाट पेसावर जाँदै गरेको जाफर एक्सप्रेस रेलमा आक्रमण गरेर कैयौं यात्रुलाई बन्धक बनाएका थिए ।
क्वेटास्थित रेल अधिकारीका अनुसार मंगलबार ११ बालबालिका र २६ महिलासहित ८० यात्रु भने रेलबाट ओर्लिएर घर फर्किएका थिए । सैनिक अधिकारीका अनुसार रेलमा क्वेटाबाट चढेका सयभन्दा बढी सैनिक थिए । बीएलएले विज्ञप्तिमार्फत रेलमा आक्रमण गर्नुअघि दुर्गम सीबी जिल्लास्थित रेल पटरीमा बम विस्फोट गराएको जनाएको छ । बीएलएले आफूले नियन्त्रणमा लिएकालाई उद्धार गर्ने प्रयास गरेको खण्डमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको थियो ।
आक्रमणकारीले बलोच राजनीतिक बन्दीहरूलाई ४८ घण्टाभित्र मुक्त गर्नुपर्ने माग राखेका थिए । बलुचिस्तानको स्वतन्त्रताका लागि दशकौंदेखि विद्रोह गर्दै आएको बीएलएले प्रहरी स्टेसन, रेलमार्ग र राजमार्गलाई लक्षित गर्दै आएको छ । गत अगस्टमा उनीहरूले बलोचिस्तान प्रान्तस्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेका थिए । उक्त घटनामा कम्तीमा ३९ जनाको ज्यान गएको थियो ।
तर पछिल्लो समय भने बीएलएले बलोचिस्तानमा सञ्चालित परियोजनामा कार्यरत चिनियाँ नागरिकलाई निसाना बनाउन थालेको छ । सन् २०११ देखि भने यो समूहले पाकिस्तानी सुरक्षा निकाय, विदेशी कामदार, सरकारी कर्मचारी र पत्रकारमाथि आक्रमण गर्दै आएको छ । बीएलएलाई पाकिस्तानका साथै बेलायत र अमेरिकासहित धेरै पश्चिमी देशले आतंकवादी संगठन घोषणा गरेका छन्सन् १९६४ मा सिरियाको दमास्कसमा स्थापना भएको बलोचिस्तान लिबरेन फ्रन्ट (बीएलएफ) सुरुमा इरानी बलोच विद्रोहमा संलग्न भएको थियो ।
इरानी बलोचहरूले त्यहाँको सरकारविरुद्ध विद्रोह गरेका थिए । पाँच वर्षको द्वन्द्वपछि इरानको शाहविरुद्धको विद्रोह वार्तामार्फत अन्त्य भएको थियो । त्यसलगत्तै अन्य बलोच संगठनहरूसँगै बीएलएफले पनि पाकिस्तान सरकारविरुद्ध गतिविधि गर्न थालेको हो । सन् १९७० को दशकदेखि यी संगठनहरूले अफगानिस्तानमा शरण लिएर गतिविधि गर्दै आइरहेका छन् ।