• चैत्र १ २०८१, शनिबार

ट्रम्प किन कब्जा गर्न चाहन्छन् ग्रीनल्यान्ड ?

फाल्गुन ३० २०८१, शुक्रबार

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि ग्रीनल्यान्ड कब्जा गर्ने बताएका छन् । बिहीबार ओभल अफिसमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव मार्क रटसँगको भेटवार्तापछि ट्रम्पले ग्रीनल्यान्ड कब्जा गर्ने दोर्होयाएका हुन् । ग्रीनल्यान्डलाई अमेरिकामा गाभ्ने कुरा कहाँ पुग्यो भन्ने प्रश्नमा ट्रम्पले भनेका छन, मलाई लाग्छ यो हुन्छ ।

यसका लागि नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेटोका महासचिव रटको विशेष भूमिका रहने आशा गरेको पनि ट्रम्पको भनाइ छ । हामीलाई अन्तर्राष्ट्रिय सुरक्षाका लागि पनि त्यो (ग्रीनल्यान्ड) चाहिन्छ, उनले भनेका छन् ।

महासचिव रटले भने यसमा नेटो तानिन नहुने बताएका छन् । यद्यपि उनले रुस र चीनको चासोका बीच ग्रीनल्यान्ड आर्कटिक क्षेत्रको सुरक्षाका हिसाबले महत्त्वपूर्ण रहेको बताए । यसअघि ट्रम्पले डेनमार्कको स्वायत्त भूभागका रूपमा रहेको ग्रीनल्यान्ड अमेरिकी सुरक्षाका लागि अति आवश्यक भएको बताएका थिए ।

ग्रीनल्यान्ड गाभ्नका लागि आर्थिक र सैन्य दबाबसमेत थाल्न सक्ने ट्रम्पको भनाइ थियो । सन् १९५३ देखि ग्रीनल्यान्ड डेनमार्कको स्वायत्र भूभागका रूपमा रहेको छ । यद्यपि त्यहाँ आफ्नै सरकार रहेको छ । ग्रीनल्यान्डमा यसै साता संसदीय निर्वाचनसमेत भएको छ । वर्तमान प्रधानमन्त्री म्यूत बी एग्देले पनि ट्रम्पको भनाइप्रति प्रतिक्रिया दिँदै भनेका छन्, इनफ इज इनफ ।

उनले पार्टीका नेताहरूकलाई ट्रम्पको निर्णविरुद्ध उत्रिन पनि निर्देशन दिएका छन् । त्यस्तै नयाँ प्रधानमन्त्रीका रूपमा हेरिएका जेन्स फ्रेडरिक नेल्सन भन्छन, हामी अमेरिकी बन्न चाहँदैनौँ । न त हामी डेनिस बन्न चाहन्छौँ । हामी ग्रीनल्यान्डर नै बन्न चाहन्छौँ । भविष्यमा हामी हाम्रै स्वतन्त्रता चाहन्छौँ ।

उनले आफूहरूले नै देश बनाउन चाहेको पनि बताएका छन् । ट्रम्पले डेनमार्क धेरै टाढा रहेको र उसले ग्रीनल्यान्डको संरक्षण पनि गर्न नसक्ने बताएका छन् । डेनिस संसद्का अध्यक्ष यासमस जार्लोभले भने कडा प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, हामी ग्रीनल्यान्डबारेमा नेटो महासचिवले ट्रम्पसँग गरेको ख्यालठट्टाको प्रशंसा गर्दैनौँ । यसको अर्थ नेटोका दुई मुलुकबीच युद्ध चाहेको देखिन्छ । ग्रीनल्यान्डमा भर्खरै भएको चुवाले पनि डेनमार्कबाट तत्काल स्वतन्त्रता चाहेको म्यान्डेट पनि दिएको छ । र, उनीहरू कहिल्यै पनि अमेरिकी बन्न चाहँदैनन् ।

ग्रीनल्यान्ड विश्वकै कम जनघनत्व भएको भूभाग हो । यहाँको जनसंख्या करिब ५६ हजार मात्र रहेको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा समेत ग्रीनल्यान्ड किन्ने योजना रहेको बताएका थिए ।

ग्रीनल्यान्ड प्राकृतिक स्रोतका हिसाबले धनी क्षेत्र हो । यहाँ बहुमूल्य खनिज र ऊर्जाका स्रोत रहेको अध्ययनहरूले जनाएका छन् । साथै सुन, प्लाटिनम, टाइटानिअमलगायतका बहुमूल्य धातु र रेअर अर्थ एलिमेन्ट पनि यहाँ पाइन्छ । त्यसैगरी ब्याट्रीका लागि चाहिने दुर्लभ धातुका कारण पनि ग्रीनल्यान्डमाथि ठूला राष्ट्रका नजर परेको हो ।

अमेरिका र चीनबीच विद्युतीय कार निर्माणमा तीव्र प्रतिस्पर्धा चलिरहेका बेला दुवैलाई ब्याट्रीका लागि चाहिने धातु पाइने ठाउँ ग्रीनल्यान्डमाथि चासो देखाउनु स्वाभाविक भएको विश्लेषकहरूको भनाइ छ ।

त्यस्तै रुसले पनि यस क्षेत्रलाई रणनीतिक महत्त्वका हिसाबले हेर्छ । रुस र अमेरिकाको बीचमा भएकाले पनि यो क्षेत्र रणनीतिक हिसाबले महत्त्वपूर्ण छ । अमेरिकाले यही द्वीपमा सैन्य अखडासमेत राखेको छ ।