• फाल्गुन २९ २०८१, बिहीबार

चीन लगायतका देशबाट आयो होलीका लागि ४० करोडको रङ

फाल्गुन २९ २०८१, बिहीबार

काठमाडौँ । नेपालमा होलीका लागि आवश्यक रङ ठुलो परिमाणमा भारत लगायत अन्य मुलुकबाट आयात हुँदै आएको छ । यस वर्ष पनि यस्तै भएको छ । यस आर्थिक वर्षको हालसम्मको अवधिमा सिन्दूर बाहेकको रङ साढे ४० करोड बराबरको रङ विदेशबाट आयात भएको छ ।

२०८१ माघ मसान्तसम्मको अवधिमा ४० करोड ४८ लाख ५७ हजार रुपैयाँको ७ लाख ७१ हजार १८३ किलो रङ आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त रङ आयात हुँदा ८ करोड ७ लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन रङ सबैभन्दा बढी होलीमै खपत हुन्छ ।

गत वर्षको सोही अवधिमा ३७ करोड ६७ लाख ३ हजार रुपैयाँको ६ लाख ४६ हजार ३४६ किलो रङ आयात भएको थियो । उक्त परिमाणमा रङ आयात हुँदा ७ करोड ५० लाख ५२ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।

साथै सो अवधिमा ८३ लाख ३१ हजार रुपैयाँको ४१२४१ किलो सिन्दूर आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । चालु वर्षको माघ मसान्तसम्म १० मुलुकबाट रङ आयात भएको विभागको तथ्यांकले उल्लेख छ । यसमध्ये सबैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट ३७ करोड २७ लाख १५ हजार रुपैयाँ बराबरको ७ लाख ४६ हजार १७४ किलो रङ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

दोस्रोमा चीनबाट आयात भएको छ । चीनबाट १ करोड ७१ लाख ७६ हजार रुपैयाँको २४ हजार ५५१ किलो ग्राम रङ आयात भएको छ ।
रङ आयात हुने तेस्रो मुलुकमा अस्ट्रेलिया रहेको छ । अस्ट्रेलियाबाट७३ लाख ६८ हजार रुपैयाँको १ हजार ७५० किलो रङ आयात भएको छ ।