• जेष्ठ ८ २०८२, बुधबार

ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट पनि हटाइदिन सकिन्छ : कृष्ण सिटौला

फाल्गुन २८ २०८१, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरको प्रदर्शनले आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् । मंगलबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सिटौलाले यस्तो बताएका हुन् । ‘१५/२० हजार मान्छे सडकमा आउनु, चाहियो भन्नु यो कुनै ठूलो कुरा होइन । यसका बारेमा धेरै चर्चा गर्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन,’ उनले भने ।

यसको पृष्ठभूमिमा उनले पूर्वराजा ज्ञानेन्द्रको ताकतबारे आफू जानकार रहेको उनको भनाइ थियो । ‘मैले आफैले गएर करिब एक घण्टा बसेर सम्झाइ बुझाइ गरेर बाहिर पठाएको हुँ र मैले बुझेको छु उहाँ (ज्ञानेन्द्र शाह) कुन ताकतको मानिस हुन् ? यो (राजसंस्था) फर्केर आउँदैन । अन्त्य भएको कुरा हो । धेरै चर्चा गरेर हामी आत्तिनुपर्ने छैन,’ सिटौलाले भने ।

नारायणहिटीबाट ज्ञानेन्द्र शाह निर्मलनिवास सर्दा सिटौला गृहमन्त्री थिए । त्यसबेला आफूले गएर ज्ञानेन्द्र शाहसँग करिब एक घण्टा बसेर कुरा गरेको सिटौलाले सुनाए ।

त्यसबेला आफूले ज्ञानेन्द्रलाई सम्झाएको स्मरण गर्दै सिटौला थप्छन्, ‘राजाबारे धेरै चर्चा उठ्छ । मैले भन्ने गरेको छु– किन धेरै चर्चा गर्नु ? म आफै बिदा गर्न गएको हुँ, राम्रै सम्झाएको छु ।’

सरकारले निर्णय गरेर नागार्जुनमा बस्न दिएको भन्दै उनले सरकारले चाहे पूर्वराजालाई नागार्जुनबाट समेत हटाइदिन सक्ने बताए ।