काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले काठमाडौँको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा हरेको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले हडपेको आरोप लगाएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोक कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका हुन् ।
उनले भने, ‘काठमाडौँ क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर–९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२/६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको बाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ ।’
रास्वपाकै अर्की सांसद सुमना श्रेष्ठले पनि उक्त जग्गाको बारेमा अनुसन्धान गर्न माग गरिन् । सांसदहरूको यस्तो आरोपपछि कांंग्रेस नेताहरू उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले तथ्यमा टेकेर मात्र अभिव्यक्ति दिन समेत संसदको ध्यानाकर्षण गराएका थिए ।