• बैशाख ११ २०८२, बिहीबार

‘७२ घन्टा मात्रै स्मार्ट फोन नचलाउँदा पनि मस्तिष्कमा परिवर्तन’

फाल्गुन २७ २०८१, मंगलवार

फागुन२७,काठमाण्डौं । ‘७२ घन्टा मात्रै स्मार्ट फोन नचलाउँदा पनि मस्तिष्कमा परिवर्तन’अहिले प्राय व्यक्तिको दिनको सुरुवात र अन्त्य स्मार्ट फोनबाटै हुन्छ भन्दा फरक पर्दैन । बिहान उठेपछि सबैभन्दा पहिला र राति सुत्नुभन्दा ठिक अगाडि हामी स्मार्ट फोनमै भुलिरहेका हुन्छौँ । हाल मात्रै गरिएको एक अध्ययनले देखाएको छ कि, मानसिक स्वास्थ्यका लागि स्मार्ट फोनको प्रयोग सीमित गर्नु आवश्यक छ ।

७२ घण्टा मात्रै पनि स्मार्ट फोनको प्रयोग कम गर्दा त्यसले मस्तिष्कमा सकारात्मक परिवर्तन ल्याउने निष्कर्ष यो अध्ययनले निकालेको छ । जर्मनको हाइडेलबर्ग विश्वविद्यालय र कोलोन विश्वविद्यालयका अध्यताहरुले २५ युवामा यो अध्ययन गरेका थिए । प्रकाशित अध्ययनको रिपोर्टमा उल्लेख गरिए अनुसार स्मार्ट फोन प्रयोग गर्ने १८ देखि ३० वर्षका २५ युवामा यो अध्ययन गरिएको थियो ।

जसमा १३ जना महिला र १२ जना पुरुष सहभागी थिए । अध्ययनमा सहभागी गराउनु भन्दा पहिला उनीहरूमा स्मार्ट फोन तथा भिडियो गेम सम्बन्धी लत तथा कुनै मानसिक समस्या नभएको पुष्टि गरिएको थियो । उनीहरूको व्यवहार, आनीबानी र रुचिबारे बुझ्न सुरुमै दुई प्रश्नावली समेत भराइएको थियो । ७२ घण्टासम्म उनीहरुलाई अत्यावश्यक कामका लागि र परिवारसँग सम्पर्क गर्न मात्रै स्मार्ट फोन दिइरहेको थियो ।

उनीहरूको मस्तिष्कको अवस्था जाँच गर्न मस्तिष्कको ‘एफएमआरआई’ स्क्यान गरेर हेरिएको थियो । सुरुको स्क्यान स्मार्ट फोनको प्रयोगमा सीमितता गनुअघि नै गरिएको थियो । बीचमा र ७२ घण्टाको अवधि सकिएपछि अन्तिम स्क्यान गरिएको थियो । स्मार्ट फोनको प्रयोग सीमित गर्दा लतसँग सम्बन्धित न्युरोट्रान्समिटर प्राणालीले मस्तिष्कमा कस्तो असर पर्छ भनेर अनुसन्धानकर्ताले जाँच गर्न खोजेका थिए ।

स्मार्ट फोनको प्रयोग सीमित गरिसकेपछिको मस्तिष्क स्क्यानमा पनि विभिन्न प्रयोग गरिएको थियो । स्क्यानको समयमा सहभागीहरुलाई रमाइला दृश्य देखाइएको थियो, जस्तो–डुंगा, फूल आदि । अनि बन्द रहेका र खोलिएका स्मार्ट फोन पनि देखाइएको थियो । यसमा मस्तिष्कको फरक–फरक अवस्था स्क्यान भएको थियो ।

स्क्यानहरुले के देखायो भने–स्मार्टफोन प्रयोग सीमित गर्दा डोपामाइन र सेरोटोनिनसँग सम्बन्धित क्षेत्रतिर मस्तिष्कको गतिविधिमा परिवर्तन छ । भावना तथा लतलाई नियमन गर्ने प्रणाली न्युरोट्रान्समिटरमा सकारात्मक परिवर्तन आएको देखियो । यसरी छोटो अवधिमा पनि स्मार्ट फोनको प्रयोग सीमित गर्दा त्यसले मस्तिष्कमा सकारात्मक परिवर्तन गराउने निष्कर्ष अध्ययनकर्ताको छ ।