• चैत्र १८ २०८१, मंगलवार

विश्व शान्तिका लागि एशिया एक हुन सक्ला !

फाल्गुन २७ २०८१, मंगलवार

एशिया एक हुन सक्ला ! अहिले प्रश्न यही उठेको छ, के एशिया एक हुन सक्ला ? पहिले ‘उदाउँदो’ भनिएको एशिया अहिले विश्व राजनीतिक रङ्गमञ्चमा निर्णायक हुन पुगेको छ । एशियाको बर्चस्व कायम भइसकेको पनि होइन । तर विश्व व्यवस्थामा सन्तुलन ल्याउने ल्याकत र ताकत एशियामा सरेको भने साँचो हो ।

एशिया पनि विभाजित छ । जापान शासकीय धुरीका हिसाबले पश्चिमी खेमामा आबद्ध छ । रूस, चीन र भारत पनि आआफ्ना कुटनीतिक पहलमा व्यस्त छन् । अमेरिका र रूससँग समदुरीका आधारमा व्यवहार गर्न तल्लिन छ भारत ।


Advertisement

उता चीन ‘एशियाका आन्तरिक मामला आफैले समाधान गर्न सिकौं’ भन्ने ध्याउन्नमा लागिरहेको छ । भारतसँगको सीमा विवाद शान्तिपूर्ण तवरबाट समाधान गर्न चीन तयार रहेको देखिन्छ । तर भारत भने यो मामलामा अति बढी उत्तेजित नै देखा परिरहको भान हुन्छ ।

यो बेलामा एशिया एक हुन सक्ला त भन्ने प्रश्न गम्भीर बनेर आएको छ । यतिबेला एशियाली उदाउँदा शक्ति रााष्ट्रबिच एकताका अन्तरविरोधमा खेल्न अमेरिका चाहिरहेको छ । अमेरिकाको कार्यकारी निकायमा रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्प आएपछि उनले विश्वको अन्तरविरोधमा फरक सोच र तरिका अपनाएका छन् ।

उनले समाजवादी रूसकालिन ‘नेटो’ र ‘वार्सा’को अवधारणा परित्याग गरिसकेका छन् । समाजवादी रूस अहिले अस्तित्वमा नरहेकाले नेटो (तात्कालिन पुँजीवादी खेमाको सैन्य धुरी) को पनि औचित्यता स्वतः समापन भइसकेको ट्रम्पको सोच छ । उता डेमोक्र्याट भने यदि ‘नेटो’ बिघटन गरिदिने हो भने यसले अमेरिकाको युरोपसँगको सम्बन्धमा दरार पैदा गरिदिनेछ भन्ने चिन्तामा छ ।

तर ट्रम्प युरोपसँग भन्दा पनि एशियासँग हात मिलाएर अघि बढ्न चाहन्छन् । त्यसको स्पष्ट अभिव्यक्ति रूस–युक्रेन युद्धमा हाल अमेरिकाले लिएको ‘स्ट्याण्ड’ वा कदमलाई हेर्न सकिन्छ । अमेरिका यो मामलामा रूसको पक्षमा उभिएको भान हुन्छ ।

अमेरिका ट्रम्पको अवधारणा अनुसार आफ्नो आन्तरिक अवस्था सुदृढ गर्न चाहन्छ । त्यसका लागि एशियाली राष्ट्र र विशेष गरी जापानपछि भारत र रूससँग निकटको सम्बन्ध कायम राखी एशियाकै अर्को शक्तिशाली राष्ट्र चीनसँग पौंठेजोरी खेल्न चाहन्छ ।

एशिया फुटाएर राज गर्ने चाहना अमेरिकाको छ । यस मामलामा जापान, भारत र रूससँग हातेमालो गरी चीनलाई एक्ल्याउने रणनीतिमा अमेरिका रहेको छ । जापानसँग एकसाथ रहेर भारत र रूसलाई मित्र शक्तिको दर्जा दिँदै अमेरिकाले चीनसँग फेरि टक्कर लिन थालिसकेको छ । यो उनको अघिल्लो कार्यकालताका अघि सारिएको व्यापार युद्धको निरन्तरता नै देखिन्छ । ट्रम्पको दोस्रो कार्यकालमा फेरि पनि चनियाँ सामानमा ‘ट्यारिफ’ वा उच्च व्यापार कर घोषणा यसैको अभिव्यक्ति हो ।

ब्रिक्सको अवधारणा अनुसार रूस, चीन, भारत, ब्राजिल र दक्षिण अफ्रिकासम्मको मित्रवत् एकताको लामो लहरो संयुक्त राज्य अमेरिकाको आसपासमा बेरिन थालिसकेपछि अमेरिका ‘प्रधान दुस्मनविरूद्ध सहायक दुश्मन आफ्ना मित्र’को नीति अख्तियार गर्न थालिसकेको देखिन्छ । यो नीति अख्तियारका लागि अमेरिकाले शक्तिधुरीका हिसाबले एशिया फुटाउनु पर्ने बाध्यता आइपरेको छ ।

यही बाध्यताका कारण रूसलाई मित्र बनाउँदा अमेरिकाले नेटो राष्ट्रहरूलाई वेवास्ता गरिरहेको छ । यसको ज्वलन्त अभिव्यक्ति रूस–युक्रेन युद्धमा युरोपीय नेटो राष्ट्रहरू युक्रेनको समर्थनमा छन् भने अमेरिका रूसको समर्थनमा देखा परिरहेको छ ।

राजनीतिक तथा कुटनीतिक विश्लेषकका अनुसार सहकार्य हुँदै जाँदा अमेरिका–रूस एक ठाउँमा उभिन पनि सक्छन् । रूस आफैमा युरोपदेखि एशियासम्म फैलिएको देश हो । विश्लेषकका अनुसार युरोपको सम्बन्ध अमेरिकाले रूसबाट ‘ह्याण्डिल’ गर्न पनि सक्छ । युरोपीय सम्बन्धमा नयाँपन आउन पनि सक्छ ।

रूसलाई हात लिँदा अमेरिकाका लागि ‘एउटा ढुङ्गाले दुईटा चरा मार्नु’ बराबरको फाइदा पनि छ । पहिलो फाइदा हो, एशिया विभाजित हुन्छ । दोस्रो फाइदा हो, अमेरिका आफू सुदृढ हुन पाउँछ । रूसलाई यता युक्रेनको गलपासो सदाको लागि समाप्त हुन्छ ।

यसरी वैश्विक शक्ति राष्ट्रहरूको स्वार्थ र अन्तरविरोध आआफ्ना छन् । तर शक्ति राष्ट्रका स्वार्थ कति दुरीको सीमामा अवस्थित छन्, ती रणनीतिक छन्, कुटनीतिक मात्र छन् वा तात्कालिक छन्, यी तीन कुराले तात्कालिक र दीर्घकालिन असर पार्ने र गठबन्धन अघि बढ्ने देखिन्छ ।

तथापि चुरो र मुख्य कुरा के हो भने वैश्विक अन्तरविरोधको यो माखेसाङ्लोमा एशिया एक ढिक्का हुन्छ वा विभाजित ? यसले अत्यन्तै ठूलो र दीर्घकालिन अन्तर्राष्ट्रिय महत्व राख्नेछ ।