दाङ, फागुन २७ । रूस–युक्रेन युद्धमा रोल्पाका एकजनाको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँलिका–५ जैमाकसलाका ४४ वर्षीय तीर्खबहादुर बुढाथोकीको मृत्यु भएको हो । उनी रूस गएको गत असोजमा १ वर्ष पुगेको थियो ।
भिडन्तमा उनको मृत्यु भएको खबर पाएपछि परिवारले सोमबारदेखि नै काजकिरिया सुरू गरेको उनका दाइ दुर्गा बुढाथोकीले जानकारी दिए । तीर्खबहादुर पूर्व वडाध्यक्ष पनि हुन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा तीर्खबहादुर एमालेबाट सुनछहरी–५ मा वडाध्यक्ष निर्वाचित भएका थिए । एमाले २०७९ को स्थानीय तह निर्वाचनमा पुनः तिर्खबहादुरलाई नै वडाध्यक्षको उम्मेदवार बनाएको थियो । त्यतिबेला भने उनी माओवादी केन्द्रका देवीलाल रोकामगरसँग पराजित भएका थिए ।
रूसमा मारिएका तिर्खबहादुरका श्रीमती, एक छोरा र एक छोरी छन् । उनकी श्रीमती अनमी हुन् । तिर्खबहादुरसँग फागुनयता परिवारको सम्पर्क भएको थिएन । रूसी सैनिकमा कार्यरत एक जना नेपालीले उनको मृत्यु भएको भन्ने खबर गरिदिएको दुर्गाले बताए ।