• फाल्गुन २६ २०८१, सोमबार

श्रम शक्ति व्यवस्थित गर्न पुँजी बजार चलायमान हुनु आवश्यक छ : उद्योगमन्त्री भण्डारी

फाल्गुन २६ २०८१, सोमबार

फाल्गुन २६, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुन नसक्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय उत्पादनको १३ प्रतिशत हिस्सा ओगटेको कृषिमा आधारित अर्थतन्त्रको उत्पादकत्व पाँच प्रतिशतमा घटेको बताए ।

उनले भने, ‘जबसम्म नेपालको पुँजी बजार चलायमान हुँदैन तबसम्म नेपालको श्रम शक्तिलाई व्यवस्थित गर्न सकिँदैन । यसैले पहिलो कुरा नेपालको पुँजी बजारमा निजी क्षेत्रको जुन आज उपस्थिति छ त्यो उद्योगसँग र व्यापारसँग ड्रेडसँग जोडिएका सन्दर्भहरू छन् । आजको व्यापार असन्तुलनको पनि चर्चा भयो । हाम्रो व्यापार बढाउन सकेनौँ भने, उत्पादक उत्पादकत्व वृद्धि हुन सकेन ।

हामीले वस्तुहरू आयात गरी रहेका छौँ । हाम्रो सम्भावनाको क्षेत्र कृषिमा आधारित अर्थतन्त्र आज नेपालमा उद्योगको जिडिपीमा हिजो १३ प्रतिशतको योगदान थियो भने आज त्यो घटेर पाँच प्रतिशतमा आएको छ । उनले उद्योगमा लगानी गर्न कठिन र जोखिम भएको भन्दै हिजोका दिनमा नेपालको ब्रान्डको रूपमा स्थापित पस्मिना, गार्मेन्ट, गलैँचा लगायतका उद्योगहरू बन्द भएको बताए ।

छिमेकी मुलुकले लगानी गरेका जुट मिललगायतका संस्थाहरू धराशायी हुनुको कारण खोज्नुपर्ने उनको भनाइ छ । उनले भने, ुउद्योग सञ्चालन गर्न कठिन र जोखिम छ । त्यही जोखिम हिजोका हाम्रा विरासतहरू नेपालको ब्रान्डको रूपमा स्थापित पस्मिना, गलैँचा तथा गार्मेन्ट, जुट मिललगायतका उद्योगहरू बन्द भए । छिमेकी मुलुकले लगानी गरेको विभिन्न संस्थाहरू धराशायी भयो ।

यस्तो किन भयो त्यसको कारणको खोजी गर्नुपर्ने छ ।’मन्त्री मण्डारीले उद्योग र उद्यमशीलताका बारेमा सरकारले गरेको नीतिगत सुधारले आशा जगाएको बताउनु भयो । उनले रोजगारी ग्यारेन्टी गर्ने तथा उद्यम र उद्यमशीलतालाई प्रोत्साहन गर्ने खालको विषय आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने बताए । उनले बेरोजगारीका कारण युवामा देखिएको निराशालाई आशामा बदल्ने गरी सरकारले गरेको नीतिगत सुधारलाई निजी क्षेत्रले स्वागत गरेको दाबी गरे ।

उनले भने, ‘आजको उद्योग, उद्यमशीलताका बारेमा आजको सरकारले नीतिगत सुधारका थुप्रै आयामहरू जुन निजी क्षेत्रले स्वागत गरेको छ । आज त्यसले एउटा नयाँ गति पैदा भएको छ । त्यसको अझ राम्रो प्रतिबिम्ब आगामी आर्थिक वर्षको बजेटबाट झल्किने छ । जहाँ रोजगारीको ग्यारेन्टी गर्ने कुरा, उद्योग उद्यमशीलता जोडिने कुरा त्यसलाई प्रोत्साहित गर्ने कुरा र आजका राजनीतिका थुप्रै कार्यभारका दायित्वहरूलाई पूरा गर्नुपर्ने छ ।

विद्यमान निराशालाई चिर्नुपर्ने छ । त्यो निराशालाई आशामा बदल्नुपर्नेछ ।’मन्त्री भण्डारीले नेपालको पुँजी बजार, श्रम बजारसँगको नेपालको उत्पादन र नेपालको रोजगारीलाई जोड्न सके आन्तरिक रोजगारीका प्रश्नलाई समाधान गर्न सकिने बताए ।