• फाल्गुन २६ २०८१, सोमबार

ओली सरकारको नालायकी पनका कारण प्रतिगामी शक्तिलाई बल पुग्यो : माओवादी केन्द्र

फाल्गुन २६ २०८१, सोमबार

काठमाडौँ । केपी ओली नेतृत्वको गठबन्धन सरकारको नालायकीले गर्दा प्रतिगामी शक्ति आशावादी भएको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले निष्कर्ष निकालेको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले ओली सरकारको जनविरोधी गतिविधिले प्रतिगामी शक्तिलाई बल पुगेको निष्कर्ष निकालेको हो ।

राजाको शासन कालमा भएका दमन, कुकृत्य अझै जनताले सम्झिरहेका छन् । अहिले सरकारको नालायकीले प्रतिगामी शक्तिहरू आशावादी देखिएका छन् । तर गणतन्त्रको असली हिमायती हाम्रो पार्टी माओवादीमा लागेका लाखौँ कार्यकर्ता समाजवाद ल्याउन लामबद्ध भइसकेका छन्‌’, बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने– ‘पूर्वराजा ज्ञानेन्द्रले पनि शान्त चित्तपूर्वक सोचे हुन्छ । हिजो आफूले शासन गर्दा कुन स्थिति थियो, अहिले उहाँलाई बोल्न गणतन्त्रले छुट दिएको छ । संविधान अनुसार बोल्न सबैलाई छुट छ तर विरुद्धमा जान कसैलाई छुट छैन ।’

नेपालको इतिहास हेर्दा नेपाली जनताले लोकतन्त्रलाई नै साथ दिएको स्मरण गर्दै उनले अब पनि जनताको साथ लोकतन्त्र र गणतन्त्रको रक्षका लागि हुनेमा विश्वास व्यक्त गरे ।

यद्यपि संसारभर देखिएको अराजकताको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने कसैले सोचेको भए त्यो दिवास्वप्ना मात्र हुने सापकोटाले जिकिर गरे ।