नेपाली छात्रा पविता ढुङ्गेल अहिले चर्चाको शिखरमा छिन् । त्यो हो, उनको सोधपत्रमा गरिएको अनुसन्धान । उनले एउटै सोधपत्रमा १० वटा अनुदान प्राप्त गरेकी छिन् । यसले उनको त्यो सोध कति चामत्कारिक होला भन्ने सहजै अनुमान लगाउन बाध्य गराउँछ ।
नेपालमा पढ्दा पनि उनी मेधावी छात्रा थिइन् । उनको लगन, क्रियाशीलता र प्रतिभा देखेर शिक्षक शिक्षिका पनि खुसी हुने गर्थे । यो ढुङ्गेलका लागि प्रेरणा बन्यो यसले उनलाई सफलताको चुचुरोसम्म डोर्यायो पनि ।
सन् २०२१ मा ढुंगेलले युनिर्सिटी अफ् क्यालिफोर्नियामा अध्ययनका लागि आवेदन दिइन् । अध्ययन गर्ने अवसर पनि पाइन् । यो अवसर भनेको संसारको पहिलो नम्बरको गणनाको सार्वजनिक विश्वविद्यालयबाट विद्यावारिधि गर्ने अवसर पाउनु थियो । त्यहाँबाट भिजन साइन्समा पीएचडी गरेर उनले अहिले विश्वमा पचनारी दिन सफल भएकी छिन् ।
नेपालका जीवशास्त्री डा. सन्दुक रूइतपछि भिजन विज्ञानमा अहिले ढुङ्गेल अघि बढिरहेकी छिन् । अमेरिकन एशोसिसएन अफ् अप्टोमेट्रीले उनलाई एक सोधमा ‘अर्ली करिअर रिसर्च अवार्ड’ दिएपछि उनको खोजको उज्यालो पक्ष देखिन थालिसकेको छ ।
उनले आफ्नो अध्ययनको विषय आफूले भोगेको समस्यालाई नै बनाएकी छन् । त्यो भनेको उनी सानोछँदा टाढाका वस्तु देख्न, हेर्न र ठम्याउन गाह्रो हुने गर्दथ्यो । विद्यालय कक्षामा पछिल्लो बेञ्चमा बस्दा उनले कालोपाटीमा लेखेको अक्षर बुझ्न सक्दिन थिइन् ।
अरूले त्यही कुरा देख्ने तर आफूले नदेख्ने के भएको होला भनेर अचम्म मान्थिन् । पछि त्यो समस्या दृष्टिमा रहेको र त्यो अदुर दृष्टिको समस्या भएको बोध भयो, आँखाको डाक्टरले जाँच गरेपछि ।
अहिले उनको चर्चाको सोध अनुसन्धान पनि अदूर–दृष्टिसँग सम्बन्धित छ । अहिले उनले यो सोधअनुसन्धान पूरा गर्नका लागि अमेरिकामा १० वटा रिसर्च ग्रान्ट प्राप्त गरिसकेकी छिन् । उनले अमेरिकामा अध्ययन सकेर नेपालमा काम गर्ने सोच बनाएकी छन् ।
नेपालमा अध्ययन गर्दा उनी काठमाडौं बाहिर बिरामीको सङ्ख्या बढी हुने ठाउँमा निकै व्यस्त रहेर आँखाको उपचारमा संलग्न रहिन् । यो उनका लागि परीक्षा र अनुभव दुवै थियो । लहानको सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगर आँखा अस्पतालमा पनि यस्तै व्यस्ततामा काम गरिन् ।
यसका साथै नेपाल अप्टोमेट्री समाजसँग मिलेर थुप्रै निजी तथा सार्वजनिक स्कूलसँग समन्वय गरेर बालबालिकामा देखिएको आँखाको समस्यामाथि अध्ययन गरिन् । यसले उनलाई आज सफलता चुम्ने उचाइमा पुग्न मद्दत गरेको छ ।