• फाल्गुन २६ २०८१, सोमबार

टी–२० विश्वकपकेन्द्रित क्यानको वार्षिक क्यालेन्डर

फाल्गुन २५ २०८१, आईतवार

२४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरमा नेपालको पुरूष तथा महिला सिनियर तथा उमेर समूहको टिमले खेल्ने खेलहरूसँगै घरेलु क्रिकेटका तालिकाहरू समावेश छन् । क्यालेन्डर अनुसार नेपालको पुरूष र महिला सिनियर क्रिकेट टोलीले यसै वर्ष टी–२० विश्वकप छनोट खेल्दैछ भने पुरुष क्रिकेट टोलीले आईसीसी विश्वकप लिग २ का महत्वपूर्ण शृंखला खेल्दै छ ।

तिनै प्रतियोगिताहरूलाई लक्षित गरी विभिन्न तयारी कार्यक्रम र सिरिजहरू समेटेर क्यालेन्डर तयार गरिएको छ । त्यसैगरी घरेलु प्रतियोगिताहरूसँगै उमेर समूहको टिम निर्माणका लागि पनि ग्रासरुटटदेखि नै तयारी गर्ने हेतुले विद्यालयस्तरीय प्रतियोगिताहरू समावेश छ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले यस वर्ष पुरूष र महिला दुवै टोलीका लागि टी–२० विश्वकपमा छनोट हुनु मुख्य लक्ष्य भएको उल्लेख गरेका छन् ।

‘हामी अब लिग २ का शृंखलाहरूबाट अंक हासिल गर्ने र विश्वकपमा छनोट हुनु मुख्य लक्ष्य हो’ उनले भने ।यिनै प्रतियोगिताको तयारीका लागि सहयोग पुग्ने गरी सिनियर टोलीका लागि वर्षभरजस्तै शृंखलाहरू तय भएका छन् । त्यस्तै घरेलु क्रिकेटमा पनि केही नयाँ प्रतियोगिताहरू समावेश भएका छन् ।

टी–२० विश्वकपका लागि तयारी
नेपालको पुरुष र महिला क्रिकेट टोलीले यसैवर्ष केही महत्वपूर्ण प्रतियोगिताहरू खेल्दैछ । दुवै टोलीले सन् २०२६ मा हुने टी–२० विश्वकपको छनोट खेल्दै छन् । त्यसैलाई लक्षित गरी क्यानले तयारीस्वरूप विभिन्न शृंखलाहरू समावेश गरेको छ ।पुरूष टोलीले आउँदो अप्रिल महिनामा हङकङ गएर चारदेशीय टी–२०आई शृंखला खेल्ने छ जहाँ हङकङ, नेपाल, कतार र नामिबिया सहभागी हुनेछन् ।

जुनमा स्कटल्याण्डसँग टी–२०आई शृंखला खेल्ने छ । जुलाईमा श्रीलंका गएर तयारी क्याम्पमा सहभागी हुनेछ । ‘जुलाईमा नेपालमा वर्षाको समय भएकाले श्रीलंका गएर तयारीको प्लान गरेका हौं’ क्यान सचिव पारस खड्काले भने, ‘नेपालमा वर्षाले तयारीमा असर नगरोस् भनेर उक्त तयारी गरेका हौं ।’

त्यस्तै अगस्टमा अस्ट्रेलियाको नर्थन टेरीटोरीमा गएर टप एन्ड टुर्नामेन्ट खेल्ने टिमहरूसँग खेल खेल्नेछ जहाँ बंगलादेश, पाकिस्तानका ए टिमसहित बिग ब्यास टिमको खेलाडीहरू पनि समावेश भएको टोलीहरू हुनेछन् । त्यस्तै लगत्तै सेप्टेम्बरमा पूर्ण मान्यता प्राप्त टिमसँग यूएईमा गएर टी–२०आई शृंखला पनि नेपालले खेल्ने छ । यो सबै खेलहरू अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप छनोटको तयारीका लागि फलदायी हुने क्यानको विश्वास छ ।