• बैशाख ११ २०८२, बिहीबार

राजावादीको गतिविधि बढेको भन्दै माओवादीको मधेस जागरण अभियान स्थगित

फाल्गुन २४ २०८१, शनिबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गर्ने निर्णय गरेको छ । फागुन महिनाभरका लागि अभियान कार्यक्रम स्थगित गर्ने निर्णय भएको एक नेताले बताए ।

राजावादी गतिविधि बढिरहेको अवस्थामा उनीहरूको गतिविधिलाई चुनौती दिने गरी संसदीय र अन्य मोर्चामा पार्टीलाई सक्रिय राख्न हाललाई अभियान स्थगित गर्ने निर्णय भएको ती नेताको भनाइ छ ।

अभियान अन्तरगत शनिबार रौतहटमा कार्यक्रम भएको छ । जहाँ अध्यक्ष प्रचण्डसहितका नेताहरू रहेका छन् । तर, यसपछिका अभियानलाई भने केही समय स्थगित गरेर संसदीय मोर्चामा सक्रिय रहँदै प्रतिगामी शक्तिहरूको गतिविधिलाई चिर्नेगरी पार्टी लाग्ने माओवादीको भनाइ छ ।

यसअघि पूर्वनिर्धारित कार्यक्रम अनुसार बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुने तय भएको थियो ।

यस्तै नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम)मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुने तय भएको थियो ।

यस्तै कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिने तय भएको थियो । यी सबै कार्यक्रम अब कहिलेदेखि सुरु गरेर कहिले सक्ने भन्नेबारे केन्द्रीय कार्यालयले छिट्टै मिति तय गर्ने ती नेताको भनाइ छ ।