• बैशाख ११ २०८२, बिहीबार

रुसमाथि प्रतिबन्ध लगाउने ट्रम्पको धम्की लगत्तै युक्रेनमा रुसको भिषण हमला

फाल्गुन २४ २०८१, शनिबार

मस्को । पूर्वी युक्रेनमा रातभर गरिएको रुसी आक्रमणमा शनिबार बिहानसम्म कम्तीमा १२ जनाको मृत्यु भएको देशको आपतकालीन सेवाले जनाएको छ । यो घटना साउदी अरबमा अमेरिका र युक्रेनी वार्ताकारबीच युद्धविरामका निम्ति हुने छलफलको केही दिन अगाडि भएको छ ।

युक्रेनको डोनेट्स्क क्षेत्रको डोब्रोपिलियाको केन्द्रमा शुक्रबार राति गरिएको रुसी आक्रमणमा ११ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको आपत्कालीन सेवाले जनाएको छ ।

खार्किभ क्षेत्रका सैन्य प्रमुख ओलेग सिनेगुबोभले शनिबार बिहान बोगोदुखिभ सहरमा गरिएको ड्रोन हमलामा एकजनाको मृत्यु भएको र सातजना घाइते भएका बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्ध र शुल्क लगाउने धम्की दिएका बेला रातभर हवाई आक्रमण गरिएको हो ।

अमेरिकी राष्ट्रपतिले शुक्रबार पत्रकारलाई भनेका थिए, “उहाँ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि विश्वास गर्नुहुन्छ । मलाई वास्तवमै युक्रेनसँग सम्झौता गर्न गाह्रो लाग्छ र उनीहरूसँग कुनै विकल्प छैन । रुससँग सम्झौता गर्न सजिलो हुनसक्छ ।”
पत्रकारलाई मन्तव्य दिएको केही समयपछि राष्ट्रपति ट्रम्पले शुक्रबार युक्रेनमा बमबारी गरेकामा रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने धम्की दिएका छन् ।

“रुसले अहिले युद्धभूमिमा युक्रेनलाई पूर्णरूपमा आक्रमण गरिरहेको छ । म युद्धविराम र शान्ति सम्झौतामा पुग्न नसकेसम्म रुसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी लगाउने बारेमा दृढतापूर्वक विचार गरिरहेको छु,” ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “रुस र युक्रेन, अब वार्ताको टेबलमा आउनुहोस् ।” ट्रम्पको धम्की यस्तो समयमा आएको हो, जब रुसले शुक्रबार युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।

केही दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको विवादपछि ट्रम्प प्रशासनले युक्रेनमा अमेरिकी सैन्य सहायता वितरण र गुप्तचर आदानप्रदानमा रोक लगाएको थियो ।

नेसनल इकोनोमिक काउन्सिलका निर्देशक केभिन ह्यासेटले ट्रम्पको धम्की कूटनीतिक रणनीतिको हिस्सा भएको बताए ।
“राष्ट्रपति ट्रम्प अडिग छन् कि हामीले सबैलाई वार्ताको टेबुलमा ल्याउनुपर्छ । उहाँले सबैसँग कुरा गर्दै हुनुहुन्छ,” ह्यासेटले पत्रकारसित भने ।  file photo