फागुन २३,काठमाण्डौं । बुटवल मेयर कप स्नुकर च्याम्पियनसिपको उपाधि हेटौंडाका सोम लामाले जितेका छन् । बिहीबार भएको ७ घण्टा लामो खेलमा सोमले बिर्तामोडका सरोज गौतमलाई ७९५ अंक अन्तरले पछाडि पार्दै उपाधि जिते । बेस्ट अफ १३ का आधारमा खेलाइएको खेलमा सुरुका ५ सेट सोम लामाले लगातार जितेका थिए ।
त्यसपछि सरोजले लगातार ४ सेट जिते । १०औं सेट सोमले जितेर अग्रता बढाउदा एघारौं सेट सरोजले जिते । बाह्रौं सेटमा लय समातेर जितेपछि सोमले उपाधिमाथि कब्जा जमाउन सफल भए । सोमले उपाधिसँगै ३ लाख ३ हजार रुपैयाँ पुरस्कार पाए भने सरोजले १ लाख १ हजार, हाइएस्ट ब्रेकरले सोम लामाले ५५ हजार रुपैयाँ, सेमिफाइनलमा पुगेका बुटवलका रेगन श्रेष्ठ र काठमाडौंका वाङ चु तामाङले नगद ३०/३० हजार रुपैयाँ प्राप्त गरे ।
नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नुकर क्लबको संयुक्त आयोजनामा फागुन १२ देखि सुरु भएको प्रतियोगितामा देशभरबाट १ सय २८ जना खेलाडीले भाग लिएको आयोजक संघका महासचिव प्रकाश क्षेत्रीले बताए ।