जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो जीवनको परवाह नगरी बिसौँ वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री सिंहले बेथिति अन्त्यका लागि विगतका सङ्घीयमन्त्री वा प्रदेशका मुख्यमन्त्रीहरूले पनि कुनै काम नगरेको आरोप लागाए । उनले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भएका बेथिति अन्त्यका लागि अभियान सञ्चालन गर्दा विभिन्न ठाउँबाट भड्काउने प्रयास गरेको भन्दै आफूले आँट गरेर अगाडि बढेको दाबी गरे ।
मधेशका केही स्थानमा एकैदिन भएको २१ वटा अस्पताल अनुगमनमा २० वटा बिनादर्ता सञ्चालन गरिएको पाइएकाले उक्त अस्पताल तत्काल बन्द गरिएको उनको भनाइ छ । उनले विगतका सरकारले पनि विभिन्न धम्कीका कारण काम गर्न नसकेको हुनसक्ने भन्दै आफूले बेथिति अन्त्यका लागि ज्यानको बाजी लगाएर भए पनि अभियान जारी राख्ने बताए ।
मुख्यमन्त्री सिंहले मधेश प्रदेशका आठैवटा जिल्लामा नक्कली डाक्टरले मान्छेको ज्यानसँग प्रत्यक्ष खेलवाड गरेको भेटिएको बताए ।
बिना मापदण्ड खोलिएका अस्पतालहरूमा डाक्टरको एनएमसी नम्बर समेत नक्कली भेटिएको उनको भनाइ छ । उनले एम्बुलेन्स चालक तथा अनमी र अहेब पढेका व्यक्तिहरूले समेत अस्पताल सञ्चालन गरेको भेटिएको बताए ।
उनले मधेशका आठ वटै जिल्लाका शिक्षा अधिकारीलाई एसइई परीक्षामा कतै चिट भेटिए केन्द्रध्यक्षलाई निलम्बन गर्नेसम्मको तयारी गरेको बताए ।