• फाल्गुन २२ २०८१, बिहीबार

युगाण्डामा खेल्न जाने महिला क्रिकेट टोलीको बिदाई, राम्रो प्रदर्शन गर्ने लक्ष्य

फाल्गुन २१ २०८१, बुधबार

२१ फागुन, काठमाडौं । यही मार्च ८ देखि युगाण्डामा सुरु हुने चारदेशीय महिला टी–२०आई शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार मुलपानीस्थित क्यानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो । शृंखलामा नेपाल, युगाण्डा, हङकङ र नामिबियाको सहभागिता ।

नेपालले नामिबियासँग महिला क्रिकेटमा पहिलोपटक खेल्न लागेको हो । बिदाई कार्यक्रममा बोल्दै टिमकी कप्तान इन्दु बर्माले युगाण्डामा गएर राम्रो क्रिकेट खेलेर फर्कने बताइन् । ‘टिमको तयारी एकदमै राम्रो भएको छ, फिल्डिङ र फिटनेसमा सुधारका लागि धेरै काम गरेका छौं र फिटनेस ट्रेनर पनि आउनुभएको छ’ उनले भनिन, ‘हामी यसपटक राम्रो क्रिकेट खेलेर फर्कनेछौं ।’

त्यसैगरी प्रशिक्षक मनोज कटुवालले पनि कमजोरीहरू सुधार गरी सिरिज जितेर फर्कने बताए । ‘फिल्डिङ र फिटनेसमा ध्यान दिएका छौं । ट्रेनर नै ल्याएर । यसपटक सिरिजमा जितेरै आउनेछौं’ उनले भने, ‘यू–१९ को खेलाडी र अनुभवी खेलाडीको समिश्रणले राम्रो गर्नेछौं ।’त्यसैगरी क्यानका सचिव पारस खड्काले नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव बटुल्न मद्दत पुग्ने बताए ।

टिमलाई शुभकामना दिँदै उनले भने, ‘जित र हारको मुल्यांकन भइरहेकै हुन्छ, हामी तपाईहरूमा विश्वास गर्छाैं, राम्रो क्रिकेट खेलेर फर्कनु हुनेछ भन्ने आशा सहित शुभकामना ।’नेपालले मार्च ८ (फागुन २४)मा नामिबियासँग खेल्नेछ भने, फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।

यी सबै खेलहरू सकिएपछि शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् । नेपालको टोली स् इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट