• बैशाख ११ २०८२, बिहीबार

पर्वतमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात जना घाइते

फाल्गुन २१ २०८१, बुधबार

फागुन २१, काठमाडौं । पर्वतको बिहादी गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिकाबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु १ ज ४४६० नम्बरको जिप बुधबार बिहान बिहादी–६, लिदीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहादी–३, रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४, पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि पाल्पा लगिएको छ । सामान्य घाइते एक बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको पहिचान खुलिनसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।