• फाल्गुन १९ २०८१, सोमबार

बैतडी घटना : खाना खाँदै गरेका सुरेन्द्रको ढाडमा गोली लागेर हत्या

फाल्गुन १८ २०८१, आईतवार

१८ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्ट शनिबार बेलुका खाना खाँदै थिए । जिप चालक विष्ट घर नजिकैको एक होटलमा खाना खाँदै गर्दा उनको ढाडमा गोली दागियो । शनिबार राति करिब ८ बजेको यो घटनाबारे प्रहरीलाई भने ९ बजेतिर जानकारी आएको थियो । गोली प्रहारको सूचना आएपछि खाल्चे प्रहरी चौकीबाट सईको कमाण्डको टोली घटनास्थलतर्फ गएको थियो ।

खाल्चेबाट घटना भएको ठाउँ पुग्न मात्रै करिब ३ घण्टाको पैदल दूरी पार गर्नुपर्छ । मान्छे माथि नै गोली प्रहार भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पाटनबाट पनि इन्सपेक्टरको नेतृत्वको टोली घटनास्थल परिचालन गरियो । पछि जिल्ला प्रहरी कार्यालय बैतडीबाट पनि टोली घटनास्थल गयो । घटनास्थल पुगेको प्रहरीले टोलीले ढाडमा गोली लागेर गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि भनेर ल्याउँदै थियो ।

ल्याउँदा ल्याउँदै उनको बाटामै मृत्यु भएको बैडतीका प्रहरी प्रमुख तथा डीएसपी मकेन्द्र मिश्रले बताए । ‘ढाडमा गोली लागेकाले घाइतेको अवस्थामा निकै गम्भीर थियो । अस्पताल र्पुयाउन नपाउँदै मृत्यु भयो’, डीएसपी मिश्रले अनलाइनखबरसँग भने । गोली प्रहारबाट सुरेन्द्रको मृत्यु भएसँगै प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका क्रममा सोही ठाउँकै अन्दाजी ४५ वर्ष जतिका कर्ण विष्टले सुरेन्द्रमाथि गोली हानेको खुलेको डीएसपी मिश्रले बताए ।

सुरेन्द्रको हत्यामा पैसा लेनदेनको विषय जोडिएको डीएसपी मिश्रको भनाइ छ । उनका अनुसार सुरेन्द्रले दाइ नाता पर्ने कर्णलाई ४० हजार रुपैयाँ सापटी दिएका थिए । उक्त रकम फिर्ता गर्न उनले पटक पटक ताकेता गरेका थिए । तर रकम फिर्ता गरेपछि उनीहरुबीच विवाद समेत भएको थियो । रकम मागेर पटक पटक बेइजत गरेको भन्दै कर्णले खाना खाइरहेको बेलामा आफ्नै भाइ नाता गर्ने सुरेन्द्रलाई गोली दागेको स्थानीयले बताएको डीएसपी मिश्रको भनाइ छ ।

भरुवा बन्दुकबाट गोली प्रहार गरेपछि उनी बन्दुक लिएर फरार भएका थिए । प्रहरी चौकीबाट निकै टाढाको ठाउँ, भिर पाखा भएकाले खोजीमा समस्या भएको प्रहरीको भनाइ छ । हत्या गरेर फरार भएका कर्णविरुद्ध यसअघि वन्यजन्तु चोरी शिकारी समेत मुद्दा चलेको पाइएको प्रहरीको भनाइ छ । पछिल्लो समयले उनी भरुवा बन्दुकको भरमा जंगली जनावरको सिकार गर्दै आएको स्थानीयले प्रहरीसमक्ष बताएका छन् । व्यक्ति पहिचान भइसकेकाले छिट्टै उनी पक्राउ पर्ने प्रहरीको दाबी छ । उनको खोजीका लागि ४ वटा टोली खटाइएको डीएसपी मिश्रले बताए ।