वीरेन्द्रनगर । आगामी चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कर्णाली प्रदेशबाट करिब ३८ हजार विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।
प्रदेश शिक्षा निर्देशनालय सुर्खेतले आइतबार आयोजना गरेको परीक्षा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिएको हो ।
कार्यक्रममा प्रदेश शिक्षा विकास निर्देशनालयकी निर्देशक दीपा हमालले कर्णाली एसईई परीक्षाका लागि उत्तरपुस्तिकाहरू समेत जिल्ला जिल्लामा पुगिसकेको बताइन् ।
कर्णालीका १० वटै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरू सहितको गोष्ठीमा उनले व्यवस्थित र मर्यादित एसईई परीक्षा सञ्चालन गर्न प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिबीच समन्वय भइरहेको बताइन् ।
उनका अनुसार कर्णालीमा यस वर्ष जम्मा ३७ हजार ९ सय ११ जना विद्यार्थी सहभागी हुँदैछन् । जसका लागि कर्णालीमा १ सय ८० परीक्षा केन्द्र छनोट भई सबै केन्द्रमा उत्तरपुस्तिकाहरू पुगाउने काम भइरहेको छ ।