काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि शान्ति आवश्यक रहेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ मा सहभागी हुन नेपाल आएको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले युद्धले विनाश गर्ने र शान्तिले विकास गर्ने बताएका हुन् ।
‘युद्धले विनाश गर्दछ, शान्तिले विकास गर्दछ । त्यसकारण विकासका लागि हामीलाई शान्ति चाहिएको छ । विश्वमा शान्ति छाओस् भन्ने प्रबल इच्छा र सक्रिय प्रयास पनि रहेको छ,’उनले भने । जापानसँग नेपालको सम्बन्ध बहुआयामिक ढंगले बढेको अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘त्यहाँ नेपालीहरू अवसरका लागि पुगेका छन् ।
शिक्षा आर्जनका लागि पनि गएका छन् । अब आयात र निर्यात जस्ता कुराहरुको आदानप्रदान पनि भइरहेको छ । यसरी अब हामी एउटा नयाँ व्यापार विकासका साझेदारी हौँ । अब विकासको साझेदारीका लागि आईटी, एआईको जमानामा नयाँ ढंगले अघि बढिरहेका छौँ,’ उनले भने । प्रधानमन्त्री ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताए ।