हेटौंडा । मकवानपुरमा चोर भनेर आफ्नै आमा–बुबाबाट कुटिएका छोराको उपचारको क्रममा मृत्यु भएको छ ।
इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीस्थित एक घरमा चोरी गर्न आएको आशंकामा कुटिएका एक पुरूषको शुक्रबार दिउँसो करिब ३ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले चितवनको अस्पतालमा ३९ वर्षीय भरथकुमार भ्लोनको मृत्यु भएको हो ।
गएराति अन्दाजी ८ बजे भरथकुमार अदुवा आफ्ना ६४ वर्षीय बुबा मिनबहादुर र ६३ वर्षीय देवीमायाको घरमा पुगेका थिए । भरथकुमार दुई वर्षदेखि काठमाडौंमा बस्दै आएका थिए ।
राति मास्क लगाएर पुगेका भरथकुमारले खुर्सानीको धुलो छर्केका थिए । चोरी गर्न आएको ठानेर दम्पतीले उनीमाथि कुटपिट गरेका थिए । जसबाट उनको टाउको फुटेको थियो ।
यता मिनहादुरको पनि करङ भाँचिएको छ, देवीमाया पनि सामान्य घाइते छिन् । उनीहरूले चोर ठानेर कुटपिट गरेको प्रारम्भिक बयानमा खुलेको थियो ।
तर शुक्रबार बिहान प्रहरी पुग्दा घटनास्थल नजिकै झोला फेला परेको थियो । जसबाट भरथको पासपोर्ट र मोबाइल फेला परेको थियो । त्यसपछि मात्रै राति घर आउने व्यक्ति जेठो छोरा रहेको खुलेको हो ।
प्रहरीले भरथ राति घरमा किन पुगेका थिए भन्नेबारे पनि अनुसन्धान गर्ने डिएसपी अर्यालले बताए । यस्तै घाइते रहेका दम्पतीलाई पनि उपचारका लागि काठमाडौं पठाएको र उपचारपछि कानुनी प्रक्रिया अघि बढाएर अनुसन्धान गर्ने उनले बताए ।