काठमाडौं । निजी क्षेत्रको डेरी उद्योग र सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डीडीसी)ले दुधको भुक्तानी नदिदाँ यतिखेर किसानहरु तनावमा छन् ।
जनकपुरका किसान रामदेव महतो आइतबार दुधको भुक्तानी मिल्छ कि भनेर काठमाडौंको दुग्ध विकास संस्थानमा आइपुगे । तर, उनले ५ महिनादेखि भुक्तानी पाउनुको साटो उधारो आश्वासन लिएर फर्किए । उधारोमा दुध बेचेका महतोले उधारो आश्वासन मात्रै पाएपछि भारतबाट ल्याएको मुर्रा भैसी किन्दाको ऋण चुक्ता गर्ने उनको चाहना पूरा हुन सकेन । डेरी उद्योगबाट ७ लाख रुपैयाँ भुक्तानी लिन बाँकी भएको महतो बताउँछन् ।
महतो जस्तै दुधको बेचेको मूल्य नपाउने अर्का किसान हुन् ललितपुरका विक्रम महर्जन । व्यवसायिक रुपमा गाइ पालन गरेर दुध उत्पादन गरिरहेका बिक्रमले ८ महिनादेखि डेरी उद्योगबाट दुधको मूल्य नपाउँदा बेचैन छन् । अब डेरी उद्योगलाई दुध दिने कि नदिने बिलखबन्धनमा छन् । ‘८ महिनादेखि एक सुको पाएको छैन, महर्जन भने, ‘नदिउ भएको पैसा पनि डुब्ला भन्ने डर छ ।’ महतो र महर्जन जस्तै देशभरका सयौ किसान अहिले दुधको भुक्तानी नपाएर तनाबमा छन् । बेचैन र तनाब भएका किसानका लागि अर्को कामको विकल्प पनि छैन । दुख गरेर पशुपालन ग¥यो, समयमा भुक्तानी नपाउँदा काम प्रति दिग्दारी व्यक्त गरिरहेका छन् । यस्तो दिग्दारी रामदेव र विक्रमको मात्रै नभई भुक्तानी पाउन नसकेका हजारौ किसानको पीडा उस्तै छ ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) र निजी क्षेत्रका डेरी उद्योगले पछिल्लो ८ महिनादेखि किसानलाई भुक्तानी नगर्दा तनाबमा परेका हुन् । पछिल्लो तथ्यांक हेर्दा डीडीसी र निजी क्षेत्रका डेरी उद्योगहरुले देशभरका किसानलाई २ अर्ब ६० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उधारोमा किसानसँग धेरै दुध ल्याउनेमा निजी क्षेत्रका डेरी उद्योग छन् । निजी डेरी उद्योगले १९ जिल्लाका किसानलाई १ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी देखिन्छ । अरु बाँकी भने सरकारी स्वामित्वको डीडीसीले भुक्तानी गरेको पाइदैन ।
निजीमध्ये सबैभन्दा बढी पोखरास्थित सुजल डेरी प्राइभेट लिमिटेडले किसानलाई भुक्तानी गर्न बाँकी छ । निजी क्षेत्रबाटै सञ्चालनमा रहेको नेपाल डेरी, राजधानी डेरी, खरिपाटी डेरीलगायतका दुई दर्जनले पनि किसानलाई भुक्तानी गर्न बाँकी छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अनुसार डीडीसीको क्षमता हाराहारीमै सुजलले दूध खरिद र बिक्री गर्ने गरेको छ । सुजलले ‘सफल’ ब्राण्डमा पोखरासहित काठमाडौंको कलंकीबाट दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गरी बजारीकरण गरिरहेको छ । निजी क्षेत्रबाट सबैभन्दा ठूलो लगानीको यो उद्योग हो ।
सुजलले सन् २०२४ मा १ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो । सन् २०२३ मा यो कम्पनीले २ अर्ब २ करोड, सन् २०२२ मा १ अर्ब ९० करोड, २०२१ मा १ अर्ब ८१ करोड र सन् २०२० मा १ अर्ब ४७ करोड रुपैयाँको कारोबार गरेको थियो ।
सुजल डेरीले भने ३० करोडको हाराहारीमा मात्रै किसानलाई भुक्तानी गर्न बाँकी रहेको दावी गर्दै आएको छ । तर, यता सरकारी निकायले भने १ अर्ब भन्दा बढी भुक्तानी बाँकी रहेको बताउँदै आएको छ । ठोस तथ्यांक दिन नसक्दा किसानलाई कति भुक्तानी गर्न बाँकी छ भन्ने कुरा एक आपसमा बाझिएको छ ।
यता उद्योगीहरु भने आफूहरुले उत्पादन गरेको दुग्धजन्य पदार्थ निर्यातको बाटो नखोल्दा आफूहरु समस्यामा परेको बताउँछन् । सरकारले कुटनीतिक रुपमा पहल गरेर विभिन्न मुलुकका लागि दुग्धजन्य पदार्थ निर्यात्को बाटो खोले आर्थिक समस्या नहुने व्यवसायीहरुको भनाई छ ।
किसानको भुक्तानी बाँकी रहदाँ थन्किएको मख्खन र पाउडर दुध विक्रिमा समस्या भइरहेको उद्योगहरुले बताएका छन् । दुग्ध विकास संस्थानसँग अहिले विक्रि हुन नसकेर स्टकमा ७ लाख किलो पाउडर दुध मौज्दात छ । त्यस्तै ६ लाख किलो बराबरको मख्खन गोदाममा थन्किएर बसेको छ । एकातिर किसानलाई भुक्तानी गर्न समस्या भइरहदाँ अर्को तिर दुग्धजन्य पदार्थ नबिकेर दुग्ध उद्योग तनाबमा छन् ।
किसानलाई रकम भुक्तानी नगरेको भन्दै गत वर्ष किसानले दुध नबेच्ने घोषणा गर्दै आन्दोलन गरेपछि सरकारले डीडीसीलाई पटक–पटक गरेर ९० करोड रुपैयाँ सहुलियत ऋण उपलब्धगराएको थियो । सहुलियतपूर्ण ऋण लिएर किसानलाई भुक्तानी गरेपनि अझै ९६ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ । फागुन १५ गतेसम्म किसानले दुधको भुक्तानी पाएका छैनन् ।
हाल डीडीसीले देशभर १ लाख ३० हजार तरल दुध किसानबाट खरिद गर्दै आइरहेको छ । ६५ रुपैयाँ प्रतिलिटरमा किसानसँग लिएको दुध बजारसम्म पुग्दा १ सय रुपैयाँ भन्दा माथिमा बिक्रि हुने गरेको छ । चिज,मख्खन, दही र अन्य दुधजन्य परिकार बनाएर डीडीसीले बजारमा पु¥याउने गरेको छ । तर, सरकारी पारामा काम गर्दा पछिल्लो समय आफ्नो बजार हिस्सा भने गुमाउँदै आइरहेको छ ।
लाङटाङका चिज उत्पादन केन्द्र प्रमुख भन्छन्– दुधको मूल्य नबढाए देशकै जेठा चिज उत्पादन तीन वर्षभित्र बन्द हुन्छ
डीडीसीबाट सञ्चालित रसुवाको लाङटाङमा रहेको चिज उत्पादन केन्द्र संकटमा पर्न थालेको छ । चिज उत्पादन केन्द्रका अध्यक्ष ग्याल्बो तामाङका अनुसार पछिल्लो समय युवा पुस्ताको चौरी पालनमा आकर्षण नभएका कारण चिज उत्पादन केन्द्र संकटमा पर्ने अबस्था आएको छ । किसानलाई प्रोत्साहन गर्नका लागि भने पनि दुधको मूल्य बढाउनुपर्छ तर दुधको उचित मूल्य नपाउँदा किसानले चौरीको दुध दिन सकिरहेका छैनन् ।
‘चिज उत्पादन का लागि प्रशस्त दुध चाहिन्छ, ग्याल्बोले भने, ‘तर, गाउँमा चौरी पालन गर्ने किसानको संख्या हट्दै गइरहेको छ ।’ बेलैमा डीडीसीले दुधको मूल्यमा हेरफेर गर्न नसके अबको तीन वर्षभित्र संकटमा पर्न सक्ने तामाङ बताउँछन् । बाबुको पालाको चिज उत्पादन केन्द्र धान्दै आइरहेका ग्याल्बो आउँदो पुस्ताबाट भने चिज उत्पादन बन्द हुने स्थितिमा पुगेको बताउँछन् । चौरी पाल्ने किसानहरु पर्यटन व्यवसायतिर लाग्न थलेपछि दुधको अभाव हुन थालेको हो । कतिपय किसानहरु ट्रेकिङतिर लागे पनि कतिपय किसानहरु होटल व्यवसाय गर्न थालेका छन् ।
चौरीको दुध लिनका लागि पनि सिन्धुपाल्चोकको हेलम्बु र रसुवाको गतलाङसम्म जानुपर्ने अबस्था छ, ग्याल्बोले भने । सरकारले किसानलाई भुक्तानी गर्न उपलब्ध गराएको रकम पनि डीडीसीले नियमित काममा परिचालन गर्दा किसानको भुक्तानी समस्या समाधान हुन नसकेको उनको भनाइ छ ।
स्वीस नागरिक नागरिक टोनी हेगेनले २००९ सालमा रसुवाको क्यान्जेनमा चिज उत्पादन केन्द्र खोलेका थिए । सुरुवाती समयमा केन्द्रबाट १० हजार केजी चिज उत्पादन हुने गरेकोमा अहिले जम्मा १ हजार ५ सय केजीमात्र उत्पादन हुने गरेको छ ।