• फाल्गुन १७ २०८१, शनिबार

बैरागीको ‘साहीमासा’ कविता संग्रह अब पाठकको हातमा

फाल्गुन १५ २०८१, बिहीबार

काठमाण्डौ । राेल्पाका कवि समीप बैरागीको नवीनतम कविता कृति ‘साहीमासा’  २०८१ फागुन १४ गते नेपाल प्रज्ञा-प्रतिष्ठान लेखनाथ कक्ष कमलादी काठमाण्डौमा सार्वजनिक भएको छ ।

बैरागीको  साे कविता कृति रोल्पा कला साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हाे । कार्यक्रमको मिडिया पार्टनरमा गेथाती अनलाइन डटकम रहेको छ भने सो पुस्तक दोबिल्ला किताब घर काठमाण्डौले वितरण गर्नेछ ।

रोल्पा कला साहित्य प्रतिष्ठानको आयोजनामा भएको उक्त विमोचन कार्यक्रममा कवि तथा कार्यक्रमका वक्ता श्रवण मुकारुङले कवि बैरागीले नेपाली कविताको क्षेत्रमा अलग खालको पहिचान निर्माण गरेको र यसले नेपाली कवितामा एउटा नयाँ आयाम लिएको बताए ।

कवि तथा लेखक नवीन विभासले कार्यक्रममा बोल्दै पुस्तककाे नाम साहीमासा राखिएकाे भएपनि यो संग्रह भित्र रहेका कविता समीप बैरागी र उनको जीवन संघर्षको कथा रहेकाे बताए । विभासले अगाडी भने ‘यसमा पर्या कविता पनि समावेश भएकोले संग्रह पृथक र वजनदार छ ।’

अर्का वक्ता कवि लक्ष्मी रुम्बाले वर्तमान समयमा मजदुरहरूले जिइरहेको तितो यथार्थ र आदिवासीहरूको सौन्दर्य साहीमासा कविता संग्रहमा आएको बताएका थिए ।

विमोचन कार्यक्रममा नेपाल संगीत तथा नाट्य कला प्रतिष्ठानका सदस्य सचिव प्रगति महरा र नेपाल पत्रकार महासंघ रोल्पाका पूर्वअध्यक्ष मौसम रोकाले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

कवि प्रमिला राई, दीप दर्पण, शकुन आँसु, गोपाल पुनमगर ‘सिङरोन’ले साहीमासा कविता संग्रह भित्रबाट कविता वाचन गरेका थिए भने १८ मगरात खामभाषाका कोषकार कर्ण बुढामगर, कवि स्वप्निल स्मृति, कवि राधिका कल्पित, सामाजशास्त्री बलबहादुर घर्तीमगर, कवि उत्तम लिम्बु, कवि मिथोज, कवि दनुवार सन्जा, डा. विष्णुकुमार सिंजालीमगर, चलचित्र कर्मी सज्जोग लाफा, कवि गुलाफ मगर, कवि तथा पत्रकार सीता तुम्खेवा, कवि राकेश बीएम, कलाकार सुमित्रा बुढा, नन्द घर्तीमगर, अमर रोका,  मुक्तककार निलाञ्जला भार्द्वाज लगायतका स्रष्टाहरूको उपस्थिति रहेको  थियो ।

साहीमासामा संग्रहित ४५ वटा कविताहरूलाई न्यायलयमा मजदुरको आवाज, हृदयका भाकाहरू, नफर्कनु आधार शिविरबाट, रङ भित्रको रङ, प्रकृति र प्रेम, आँसुमा देशको छायाँ गरी ६ वटा खण्डमा विभाजन गरि राखिएको छ ।

अठार मगरात मगर खामभाषामा कृतिहरू प्रकाशन गर्दै आएका कवि बैरागीले यसपटक भने खस नेपाली भाषामा पहिलो कविता कृतिका रुपमा साहीमासा नेपाली कविताको बजार ल्याएका हुन् ।

पछिल्लो समय नेपाली कविता क्षेत्रमा सशक्त रुपले आफ्नो उपस्थिति जनाउँदै आएका थबाङ गाउँपालिका-३, मिरुल रोल्पाका बैरागी नेपाल प्रज्ञा-प्रतिष्ठान काठमाण्डौले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०८० र बर्दघाट प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितात्मक कविगोष्ठी – २०८० का बिजेता हुन् भने साहित्यपोस्टमा प्रकाशित २०८० भरि छापिएको पर्या कविताहरू मध्ये बैरागीको कवितालाई दोस्रो स्थानमा छनोट गरेर पुरस्कृत गरिएको थियो ।

कवि युग सर्वनामले सञ्चालन गरेको उक्त विमोचन कार्यक्रम रोल्पा कला साहित्य प्रतिष्ठानका अध्यक्ष जीवन प्रवेश रोकामगरले समापन गरेका थिए । तस्वीर : राेमन बुढामगर ।