• फाल्गुन २८ २०८१, बुधबार

जाजरकोट भूकम्प पीडितलाई सहयोग गर्न जापान र युएनडीपी बीच सम्झौतापत्रमा हस्ताक्षर

फाल्गुन १४ २०८१, बुधबार

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई पुनःस्थापना गर्न नेपालमा रहेको जापानी राजदूतावास र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस कार्यक्रम अन्तरगत जापान सरकारले युएनडीपीलाई अनुदान सहयोग उपलब्ध गराउने सहमति भएको छ ।
सो कार्यक्रम लागु भएमा रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडितहरुको जीविकोपार्जनमा सुधार र प्रकोप प्रतिरोधी क्षमतामा अभिवृद्धि हुनेछ ।

अनुदान रकम हस्ताक्षर समारोहमा नेपालका लागि जापानी राजदूत तोरु मेडा र यूएनडीपी नेपालका आवासीय प्रतिनिधि सुश्री क्योको योकोसुका सहभागी थिए ।

सो परियोजनाको लागि जापान सरकारद्वारा २५० मिलियन जापानी येन अर्थात् २३१ मिलियन नेपाली रुपैयाँ उपलब्ध गराइनेछ । भूकम्प प्रभावित क्षेत्रका जनतालाई सक्षम बनाउने वातावरण सिर्जना गर्नु सो परियोजनाको लक्ष्य रहेको छ ।
यस अन्तरगत भूकम्पबाट प्रभावित घरहरुको पुनर्निर्माण र भूकम्पबाट विस्थापित भएकाहरुलाई पुनर्स्थापित गर्नु पनि यसको उद्धेश्य रहेको छ ।

अनुदान हस्ताक्षर समारोहमा नेपालका लागि जापानका राजदूत तोरु मेडाले नेपाललाई सहयोग गर्ने जापानको प्रतिबद्धता दोहोर्‍याए । यो परियोजनाले जाजरकोट र पश्चिम रुकुमका जनताको जीवनयापनमा सुधार ल्याउने र उनीहरूलाई थप शसक्त बनाउने आशा गरिएको छ ।

साथै राजदूत मेडाले यो परियोजनाले नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने कुरामा जोड दिए । गत २०७९ कात्तिकमा जाजरकोट र पश्चिम रुकुममा गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो धनजनको क्षति गरेको थियो ।