काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाथीभारा क्षेत्रमा विवादित बनिरहेको केबलकारको विरोधमा उभिने चेतावनी दिएका छन् । उनले सरकारले आन्दोलनकारीमाथि धरपकड गरिरहे उनीहरूको पक्षमा उभिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।
‘पाथीभराको मुकुमलुङको विषय सांस्कृतिक, भावनात्मक र ऐतिहासिक मुद्दा हो । यसलाई बलपूर्वक दबाउने दुस्साहस सरकारले नगरोस् । यदि बलपूर्वक सांस्कृतिक मुद्दालाई दबाउन खोजिए ठूलो दुर्भाग्य हुन्छ भनेको थिएँ,’ मोरङमा आयोजित सभामा मंगलबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो मुद्दामा दुवै पक्ष विन–विन हुनुपर्छ । वार्ता र संवादबाट यो समस्या समाधान नगरिए माओवादी आन्दोलनकारीको पक्षमा उभिनेछ र देशव्यापी आन्दोलनतिर जानेछ । उनले केबलकारमा सरकार नेतृत्वकर्ताहरूकै ठूलो सेयर रहेको दाबी पनि गरेका थिए ।