• फाल्गुन १३ २०८१, मंगलवार

महाशिवरात्रीकै अघिल्लो दिन बबिनाले ल्याइन् ‘जय जय शम्भु’

फाल्गुन १३ २०८१, मंगलवार

काठमाडौं । देवादिदेवका पनि भगवान मानिएका महादेवका यिनै महत्व र विशेषता सहितको अत्यन्त श्रवणीय भजन महाशिवरात्रीको पूर्वसन्ध्यामा सार्वजनिक भएको छ । उक्त भजनमा आफ्‌नो मधुर संगीत र ओजपूर्णस्वर दिएकी छिन् बबिना भट्टराईले । भजनमा शिव महिमाका शब्दहरु लेखेका हुन् दिनेश खनालले ।

महाशिवरात्री पर्वको विशेष अवसरमा बबिना भट्टराईको आफ्‌नै आध्यात्मिक युट्युब च्यानल श्री भजन्स् मार्फत् सार्जजानिक भएको उक्त भजनमा ऐरेन्ज रहेको छ रुविन कुमार श्रेष्ठको ।

म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त सुमधुर शिव भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।

शिव भजन जयजय शम्भुको भिडियोमा गायिका तथा संगीतकार बबिना आफै फिचर्ड छिन् । काठमाडौंको पूर्वोत्तरमा रहेको प्रशिद्ध तीर्थस्थल गोकर्णेश्वर जहाँ विशेष शिवलिङ्ग स्थापित गरिएको छ । सोही स्थान गोकर्णेश्वर नगरपालिका, उत्तर बाहिनीको धार्मिक स्थलमा एजे अजुको निर्देशनमा निर्माण गरिएको भिडियोमा बबिना एउटी शिव भक्तिनीको रुपमा शिव भजनमा मन्त्रमुग्ध भएर भजन भित्रै आफूलाई हराएकी छिन् ।

भजनमा उनी यति डुबेकी छिन् मानौं भजन गाइरहँदा साक्षात देवादिदेव महादेव उत्तर बाहिनीमा प्रकट हुनु भएको छ । भिडियोमा उनको भेषभूषाले सबै नारीहरुले अनुशरण गर्नु पर्ने एउटी साधवी नारीको रुपमा उनी प्रस्तुत भएकी छिन् ।

महाशिवरात्रीको सन्दर्भ विशेषमा आफ्‌नै आध्यात्मिक च्यानल श्री भजन्स् मार्फत् सार्वजनिक शिव भजन जय जय शम्भु नेपाली भजनप्रेमीहरुले मन पराउने विश्वास लिएको बताउँदै गायिका तथा संगीतकार भट्टराईले आगामी दिनहरुमा यसै च्यानलमार्फत् आफ्‌ना विविधतायुक्त भजनहरु भजनप्रेमी दर्शक, श्रोताहरु माझ ल्याउने विश्वास व्यक्त गर्दै आफ्‌नो नयाँ आध्यात्मिक च्यानल श्री भजन्स्‌लाई सब्स्‌क्राइव, लाइक, कमेन्ट, शेयर गरि सहयोग गरिदिन पनि आग्रह गरेकी छिन् ।

भगवानप्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार भट्टराईका स्वर तथा संगीतमा भगवान श्रीकृष्ण, भगवान श्रीराम, भगवान महादेव लगायतका विभिन्न भजनहरु विगतका दिनहरुमा बीणा भक्ति युट्व च्यानल मार्फत् सार्वजनिक भइसकेका छन् ।

नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्‌नो सुमधुर स्वर दिएकी छिन् । गायन र संगीत मार्फत् धर्म, अध्यात्म र भक्तिमा भट्टराईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । आगामी दिनहरुमा पनि भजनद्धारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।