फागुन १३, काठमाडौं । कैलालीमा जारी जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश भिड्दै छन् ।
दुबै टोलीले सेमिफाइनलमा जित निकाल्दै फाइनलको यात्रा तय गरेका हुन् । पहिलो सेमिफाइनलमा कर्णाली प्रदेशलाई १–० ले हराउँदै सुदूरपश्चिम प्रदेश फाइनलमा पुगेको थियो । दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लब बागमती प्रदेशको लक्की स्टार क्लबलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।
फाइनल खेल बुधबार हुनेछ । गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा भइरहेको फुटबल प्रतियोगिताको विजेताले पाँच लाख नगदसहित ट्रफी पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार नगदसहित ट्रफी प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलरक्षकले १५ हजार, उत्कृष्ट रक्षकले १५ हजार, उत्कृष्ट फरवार्डले १५ हजार, सर्वाधिक गोलकर्ताले १५ हजार, उदयमान खेलाडीले १५ हजार र फेयर प्ले टिमले १५ हजार पुरस्कार प्राप्त गर्नेछ ।