१३ फागुन, काठमाडौँ । म्याग्दी केन्द्रबिन्दु भएर मंगलबार बिहान केही मिनेटको अन्तरमा लगातार दुईवटा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको मुरी केन्द्रबिन्दु भएर बिहान ९ बजेर २६ मिनेट जाँदा दोस्रो भूकम्प गएको हो । यसको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो ।
यसअघि बिहान ९ बजेर १८ मिनेट जाँदा जिल्लाको मुना केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ३.५ म्याग्निच्युड रहेको थियो ।
सोमबार बिहान पनि लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरीस्थित खुदिखोला आसपास केन्द्रबिन्दु भएर गएको सो भूकम्पको तीव्रता ३.१ म्याग्निच्युड रहेको थियो । भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको थियो ।