• फाल्गुन १३ २०८१, मंगलवार

अमेरिकी अनुदानबाट सञ्चालित थप ७ वटा कार्यक्रम स्थगित : अर्थ मन्त्रालय

फाल्गुन १२ २०८१, सोमबार

काठमाडौं । नेपाल सरकारले अमेरिकी अन्तराष्ट्रिय सहयोग नियोग (युएसएआईडी) अन्तर्गतका बजेट प्रणालीमार्फत् नै सञ्चालनमा रहेका थप ७ वटा कार्यक्रम रोकिन पुगेको जनाएको छ ।

अर्थ मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेश बमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत् सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरु ९० दिनका लागि रोकिएको जानकारी प्रास भएको जनाएको छ ।

यसैगरी जैविक विविधता, प्रदेश एवम् स्थानीय शासन मुद्रीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी थप तीनवटा कार्यक्रमहरु पनि रोकिने स्थिति बनेको मन्त्रालयले जनाएको छ ।

डिजाइनको क्रममै रहेकोमा यी कार्यक्रमहरु समेत उक्त आदेशबाट रोकिएको मन्त्रालयले जनाएको छ । डिजाइनको क्रममा रहेका उल्लेखित कार्यकमका लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त नभएको व्यहोरा जानकारी मन्त्रालयले जनाएको छ ।

नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधारको विकासमा संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको छ ।

अमेरिकी सहयोग नियोग युएसआईडीबाट नेपालमा सन् १९५१ देखि निरन्तर रुपमा अनुदान सहायता मार्फत् विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका थिए ।

तर, राष्ट्रपति डोनल्डको पछिल्लो निर्णयबाट नेपालले ठूलो आर्थिक सहायता तथा सहकार्य गुमाउने स्थिति बनेको मन्त्रालयले जनाएको छ । राष्ट्रपति ट्रम्पले नेपाललाई दिइँदै आएको सहायतालाई ठगी भन्दै सो सहायता रोकेको घोषणा गरेका छन् ।