फागुन १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा मागेकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले स्वास्थ्य बीमाका बारेमा तथ्याङ्कगत अध्ययन नपुग्ने भए मन्त्रीबाट राजीनामा दिन स्वास्थ्यमन्त्री पौडेललाई आग्रह गरेकी हुन् । सांसद कार्कीले स्वास्थ्य बीमा कार्यक्रम सबैलाई अनिवार्य गर्न माग गरिन् ।
‘स्वास्थ्य बीमाको सीमालाई ५ लाखको पुर्याउँछु भन्ने महत्त्वाकाङ्क्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीज्यूबाट नै अब भुक्तानी गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बीमा बन्द हुन लाग्यो भन्ने लाचार अभिव्यक्ति आएकोमा दुःख लागेको छ,’ उनले भनिन, ‘चल्ने बेलामा बीमा हामीले ल्यायौँ भनेर जस लिन खोज्ने, अलपत्र पारेर वर्षौंसम्म जम्मा २६ देखि २८ प्रतिशतसम्म पहुँच राखेर धराशायी बनाएपछि हतोत्साहित हुने बानी राम्रो भएन ।’
सांसद कार्कीले सल्लाह सुझाव चाहिए आफूहरू दिन तयार रहेको बताइन् । ‘उपयुक्त सल्लाहकार छैनन् । यसमा अध्ययन तथ्याङ्कगत अध्ययन पुग्दैन भने हामी सल्लाह सुझाव दिन तयार छौँ । अनिवार्य स्वास्थ्य बीमा सबैका लागि सुरु गरौँ । २ करोड ९१ लाखले बीमा लिने हो भने २ अर्ब रकम उठ्छ,’ उनले भने ।