काठमाडौं । उदयपुरको कटारी नगरपालिका–१४ लेखानीमा रहेको श्री चन्द्रावती माध्यमिक विद्यालयमा जापान सरकारले बनाइदिएको भवन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा नेपालका लागि जापानका राजदूत मेडा तोरुले ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट्सको लागि अनुदान सहायता अन्तर्गत जापान सरकारले निर्माण गरिदिएको सो भवन विद्यालयलाई हस्तान्तरण गरे ।
भवनको लागत लगभग ८.५ मिलियन रहेको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ । भवन हस्तान्तरण कार्यक्रममा राजदूत मेडाले परियोजना सम्पन्न गर्न सहयोग गर्ने सबैको प्रशंसा गर्दै सबैप्रति बधाई तथा शुभकामना व्यक्त गरे । मन्तव्यका क्रममा उनले परियोजनाको नतिजाले विद्यार्थी र शिक्षक दुवैको लागि सिक्ने र सिकाउने वातावरण प्रदान गर्ने आशा व्यक्त गरे ।
ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट्सको स्थापना सन् १९६० मा भएको थियो । लगभग ३३० विद्यार्थीहरूको रहेको श्री चन्द्रावती माध्यमिक विद्यालयको भवन पुरानो भएको थियो । भवन बिग्रँदै गएको, भूकम्प प्रतिरोधी क्षमताको अभाव रहेको, कक्षाकोठाको अभाव र अपर्याप्त सरसफाईका कारण यसको पुननिर्माणको आवश्यकता परिसकेको थियो ।
अब भने सो विद्यालयले दुईवटा विद्यालय भवन पाएको छ । जसको एउटा भवन एकतले छ, जसमा दुई कक्षाकोठा समावेश छन् । अर्को भवनमा तीन कक्षाकोठा छन र केटीहरूका लागि समेत सुसज्जित शौचालयहरु रहेका छन् ।
भवन निर्माण र हस्तान्तरणसँगै जापानी दूतावासले यो भवन मित्रताको दीर्घकालीन प्रतीक बन्ने आशा व्यक्त गरेको छ ।
त्यस्तै यो भवन प्राप्तिसँगै जापानका जनताले पनि नेपालीले गुणस्तरीय शिक्षा र सिकाइ प्राप्त गर्ने राम्रो उदाहरण बन्ने अपेक्षा गरिएको जापानी दूतावासले जनाएको छ । यो भवन निर्माणको परियोजना सम्पन्न गर्न काठमाडौंमा रहेको एनपीओ किड्सले जिम्मा लिएको थियो ।