हरेक वर्ष सिल्लाख चतुर्दशी अथवा माघ शुक्ल चतुर्दशीका दिन पशुपतिनाथको शिवलिङ्गको छायाँ दर्शन गराउने चलन रहेको छ । सूर्य उत्तरायण दिशातर्फ लागेपछि दिनहरू लामा र न्यानो हुँदै जान्छन् । उत्तरायणको शुरुवातसँगै पशुपतिनाथ मन्दिरमा एउटा विशिष्ट अर्चना गरेर पुजा गर्ने परम्परा रहेको छ ।
सोही दिन पशुपतिनाथको शिव लिङ्गलाई नेवार समुदायले विशेष पूजा गरी नयाँ मुकुट पहिराउने चलन रहेको छ । पूजा अर्चना सकिएपछि मन्दिरको दक्षिणपट्टीको चोकमा पवित्र जल भरेर शिव लिङ्गको छायाँ जलमा प्रतिबिम्बित गरी दर्शन गर्ने गरिन्छ ।
मुकुटमा बुद्धको मूर्ति भएको रहेको हुन्छ । पशुपति नाथलाई बुद्धको मुकुट पहिराउने कार्य हिन्दू र बौद्ध धर्मावलम्बीहरू बीचको एकताको प्रतीक हो । यसले नेपालको धार्मिक विविधता र सहिष्णुताको सुन्दर उदाहरण प्रस्तुत गरेको स्पष्ट हुन्छ ।
यसबारे एउटा किम्बदन्ती पनि रहेको छ । परापूर्व कालमा एकजना शिवभक्त राजाले आफ्नो राज्यमा रहेका सम्पूर्ण जनताहरूलाई शिवरात्रीको दिन पशुपतिमा अनिवार्य दर्शन गर्न निमन्त्रणा गरेछन् । राजाको आज्ञा बमोजिम सम्पूर्ण देशवासीले पशुपतिको दर्शन गरे । तर पनि सोही राज्यमा नै रहेका एक जना विरुपाक्ष नामक साधक चाहिँ दर्शन गर्न गएनन् वा उनले राजाको आज्ञा पालन गरेनन् ।
राजाले सो कुरा थाहा पाएर विरूपाक्ष साधकलाई दर्शन गर्न नजानुको कारण सोधे । राजाको प्रश्नको उत्तर विरुपाक्ष साधकले यसरी दिए । ‘महाराज म त्रिरत्न बुद्धको शरणमा गएको हुनाले आफ्नो इच्छा हुँदाहुँदै म पशुपतिको दर्शन गर्न नगएको हुँ । यदि मैले शिवजीलाई पुजा गरेँ भने, अनिष्ट हुन्छ ।’
साधक विरुपाक्षको जवाफ सुनेर राजाले भने‘त्यसो हो भने हामीले पनि हेर्छौं, तिमीले शिवको दर्शन गर ।’ राजाको आज्ञा बमोजिम साधक विरुपाक्षले डराई डराई पशुपतिनाथको शिव लिङ्ग दर्शन गरी पूजाआजा गरे । पुजा मात्र सिद्धिएको के थियो, पशुपतिनाथको शिव लिङ्ग, टुक्रा–टुक्रा भई फुट्यो । यो देखेर राजाले साधक विरूपाक्षलाई हात जोडी माफी मागे र फेरि लिङ्गलाई जस्ताको त्यस्तै बनाउन पनि आग्रह गरे ।
साधक विरुपाक्षले आफ्ना साधनाद्वारा टुक्रा–टुक्रा भएको शिव लिङ्गलाई एक–एक गरी जोडेर पहिलेको जस्तै पारिदिए । त्यस दिनदेखि राजाले शिवरात्रीको दिन अनिष्ट नहोस् भनेर शिवरात्री अगाडी नै माघ शुल्क चर्तुदशीका दिन बुद्धको मूर्ति सहितको मुकुट शिव लिङ्गलाई पहिराई विशेष पूजा गर्ने चलन चलाए ।
त्यस दिनदेखि हरेक वर्ष क्षमापूजा सहित बुद्धको मूर्ति भएको बुद्ध मुकुट पशुपतिनाथको शिवलिङ्गलाई पहिराई पूजा गर्ने चलन चल्यो र आजको दिनसम्म पनि चल्दै आएको छ । यो पूजा गर्दा बज्रयान गुरुहरूले पुजा गर्ने चलन रहेको छ ।
यसरी हिन्दू र बौद्ध धर्म बीचको एकता, घनिष्टता
र सहिष्णुता रहेको छ । यसले हामी सबैलाई बुद्ध धर्म र हिन्दू धर्म बिच एक आपसमा छुट्याउन नै नमिल्ने सम्बन्ध रहेको देखाउँछ ।