काठमाडौं । अखिल नेपाल कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठक सम्पन्न भएको छ । सो पार्टीका अध्यक्ष नारायण शर्माको अध्यक्षमा बसेको बैठकले गरेका निर्णयहरु सो पार्टीका महासचिव लक्ष्मण उप्रेतीले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेका छन् ।
विज्ञप्तिमा महासचिव उप्रेतीले राष्ट्रियता, जनजीविका र जनअधिकारका सवालहरुका पक्षमा र कुशासन, भ्रष्टाचार, मिटरब्याज लगायतका जनविरोधी कुकृत्यहरुका विरुद्धमा संघर्षमा उत्रनुपर्ने निर्णय गरेको जनाएका छन् ।
यसको लागि उनले संयुक्त मोर्चामार्फत् वा विभिन्न वामपन्थी, देशभक्त, जनवादी र कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूसंँग कार्यगत एकता र सहकार्य गरी संघर्षको उठान, सञ्चालन र विकास गरी निर्णायकस्तरमा पुर्याउन प्रयत्न गर्ने निर्णय गरेको बताएका छन् ।
विज्ञप्तिमा उप्रेतीले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसको दिनमा दिएको वक्तव्यप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै सो वक्तव्य गणतन्त्र विरुद्ध परिलक्षित रहेको बताएका छन् । उनले पूर्वराजाको विज्ञप्तिलाई आज नागरिकमा मौलाएकाे निरासा, असन्तुष्टि र आक्रोशको सेरोफेरोमा प्रतिगामी शक्तिले टाउको उठाउने कुचेष्टाको रुपमा आएको अर्थ्याएका छन् ।
साथै उप्रेतीले यस्ता अपराधी प्रतिगमनकारी तत्वहरु र आफूलाई कथित गणतन्त्रवादी भन्ने सत्ताधारी–संसदवादी नेका, एमाले र माके आदि अघोषित पश्चगामीहरु र राजतन्त्र पुनर्स्थापित गर्ने कुकार्यप्रति सावधान हुन जरुरी रहेको जनाएका छन् ।
उनले विज्ञप्तिमा नेपाल र नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त गणतन्त्र लगायतका सिमित अग्रगामी केही उपलब्धिविरुद्धका यस्ता अवाञ्छित गतिविधिको आफ्नो पार्टीले घोर निन्दा–भत्र्सना मात्र होइन यथासक्य विरोध र प्रतिरोध समेत गर्ने निर्णय गरेको समेत जनाएका छन् ।
साथै उनले सबै सच्चा गणतन्त्रवादी, जनवादी र राष्ट्रवादी शक्तिहरू र अग्रगमनका पक्षपाती जनसमुदायलाई पूर्वराजाकाे उपरोक्त प्रतिगामी भनाइ, धुत्र्याइँ, फट्याइँ र जालसाजीपूर्ण षड्यन्त्रका विरुद्ध एकजुट भई प्रतिगामी शक्तिहरुको सोंच र षड्यन्त्रलाई जरैदेखि समाप्त पार्नको लागि एकताबद्ध भई निर्णायक संघर्षमा उत्रन हामी गम्भीर आह्वान गरेका छन् ।