• फाल्गुन ११ २०८१, आईतवार

नाथ्री फुटे के गर्ने ?

फाल्गुन ११ २०८१, आईतवार

नाकबाट रक्तस्राब हुँदा रगत नाकबाट मात्र बाहिर बग्छ भन्ने हुँदैन।नाकबाट घाँटीतर्फ पनि रगत बगेर जान सक्छ।

नाकबाटै सिधै रगत झरेमा त्यसलाई सामान्य अवस्थाका रुपमा लिन सकिन्छ। तर, रगत घाँटीतिर गयो भने त्यो खतरनाक हुन सक्छ। कहिलेकाँही फोक्सोमा रगत गएर फोक्सोको नली बन्द भई मानिसको मृत्यु पनि हुन सक्छ। यस्तो अवस्थामा जतिसक्दो चाँडो अस्पताल पुग्नुपर्छ।

नाकबाट सामान्य रुपमा रगत आएमा सिधा बसेर पाँचदेखि सात मिनेटसम्म नाक थुन्नुपर्छ। तर, टाउको पछाडि ढल्काएर वा आकासतिर हेरेर नाक थुन्नु हुँदैन। यसोगर्दा रगत फोक्सोमा जाने सम्भावना हुन्छ। सीधा उभिएर वा बसेर औँलाले नाक च्याप्दा पनि रगत बग्न रोकिएन भने, चिकित्सकको परामर्श लिनुपर्छ। रगत बगेमा चिसो वस्तु वा वरफले सेक्नुपर्छ।

नाकबाट रगत आएको बेला उत्तानो परेर सुत्नु हुँदैन। यसो गर्नाले रगत घाँटीतिर जान सक्छ। त्यस्तै, अनावश्यक तनाव लिनु हुँदैन। तनावले मानिसमा अति उत्तेजक रसायनियक तत्वहरु वृद्धि गराउँछ र रक्तचाप बढेर नाकको रगतको नशा फुट्ने सम्भावना हुन्छ।