यो वर्ष २६ डिसेम्बरका दिन चीनले आकाशमा आफ्नो चामत्कारिक प्रदर्शन गरेर देखायो । त्यो थियो, अमेरिकाको सबैभन्दा शक्तिशाली ‘न्यु जेनेरेशन एयर डोमिनेन्स’ माथि चीनको एक अभूतपूर्व र अत्याधुनिक लडाकु जहाजको सार्वजनिक प्रदर्शन ।
यो जहाजी उत्पादन चीनले भनेझैं चीनको घरेलु इन्जिनियरिङ क्षेत्रमा उत्पादित ‘अर्थपूर्ण हवाइ साधन, जो भनेकै बेलामा आफूले चाहे झैं फुत्त उत्पादि हुँदैनन्, तिनका लागि लामो प्रतिक्षा र साधना जरूरी हुन्छ ।’ त्यो प्राप्त भएको छ ।
२६ जनवरीका दिन चीनको आधुनिक सहर छेन्दुको आकाशमा पहिले अभ्यास गरिरहेका जहाजभन्दा भिन्न र अत्याधुनिक जहाज देखा पर्यो, उत्सव मनाइरहेकै बेलामा । चिनियाँ जनता पनि छक्क परे । विश्वका महाशक्तिले पनि त्यतै आँखा तरे । त्यसो भए प्रश्न उठ्छ, चिनियाँहरूले त्यस्तो के गरे ?
चिनियाँहरूले आकाशमा नयाँ र अति विकसित लडाकु जहाज उडाए । जहाज मात्र उडाएनन्, संसारका महाशक्तिको सातो समेत उडाए । कतिपयले यो त चीनले मनोरञ्जनयुक्त खेलौना मात्र उडाएको भनेर खिल्ली पनि उडाए । तर विषय विशेषज्ञले त मनमनै भय र त्रासदीको आँधीहुरी पनि उडाए ।
त्यो थियो, विश्व आकाशमा अमेरिकाको हालसम्मको प्रभुत्व तोड्ने चिनियाँ लडाकु जहाजको प्रदर्शन । यो जहाज अमेरिकी प्रविधि र यसले गरेको विकासभन्दा निकै भिन्न छ । अमेरिकाको हालसम्मको ठम्याइ के रहँदै आएको छ भने चीनले अमेरिकी प्रविधिको नक्कल गर्छ । यसको अर्थ हो, चीन प्रविधिमा अमेरिकाभन्दा तल छ । अनि अमेरिकाले बारम्बार चीनलाई आफ्नो प्रविधि चोरेको पनि आरोप लगाइरहन्छ ।
तर २६ डिसेम्बरमा अत्याधुनिक चिनियाँ सहरमाथि आकाशमा जे जस्तो दृश्य देखियो, यो अमेरिकाको लागि टाउको दखाइको विषय बन्न गयो । किनकि आजसम्म कतै पनि नदेखिएको यस्तोखाले लडाकु जहाज अमेरिकी र हालसम्म विश्वमा पत्तालगाइएको र प्रयोगमा ल्याइएको प्रविधिभन्दा नितान्त मौलिक र भिन्न थियो ।
त्यसको प्रतिक्रिया दिँदै अमेरिकी रक्षा केन्द्र पेन्टागनका एक अधिकारीले स्वीकार गरेका छन्, ‘साच्चै नै चिनियाँ प्रविधि अबका दिनमा देखा पर्न थालिसकेका छन् र ती विश्वानीयतासहित तीब्र विकासमा पनि छन् ।’ उनको स्वीकारोक्ति छ, ‘हामीले निकै ध्यान र चासोका साथ चिनियाँमाथि निगरानी राख्दाराख्दै पनि चीनको सबै कुरा प्रदर्शन नगरिहाल्ने बानी र परम्पराका कारण धेरै कुरा ढिलो मात्र थाह पाउने गरेका छौं ।’
उता चीनले भने ‘इशारा काफी’ भने झैं आफ्नो अत्याधुनिक उत्पादन प्रदर्शन गरिसकेपछि सबैलाई खोज र अनुसन्धाका लागि अनौपचारिक निम्तो दिएर स्वागत गर्न तयार भएको आभाष दिइसकेको छ । विश्वमा अहिले ठोकुवाका साथ चर्चा भइरहेको छ कि आजसम्मको पृथ्वीको आकाश अमेरिकी प्रभुत्वमा रहे पनि २६ डिसेम्बर २०२४ देखि भने चीनले यसलाई उसको मातहतमा लगिसकेको छ ।
अमेरिकी पनि चकित छन् कि चीनले प्रविधिमा यसरी किन र कसरी विकास गर्न सकिरहेको छ ! ‘ह्वाट्सएप’लाई ‘डीप सिक’ले माथ खुवाइरहेको हालको ज्ञान सागरमा लडाकु जहाजको चर्चा निकै आकाशिएको छ ।