• फाल्गुन १० २०८१, शनिबार

चालु आवको ७ महिनामा नेपालबाट १८ करोडको यार्सागुम्बा बिक्री

फाल्गुन ९ २०८१, शुक्रबार

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ७ महिनामा १८ करोड रुपैयाँ बराबरको यार्सागुम्बा बेचेको छ । भन्सार विभागका अनुसार माघ मसान्तसम्म कूल १८ करोड ३५ लाख ८२ हजार रुपैयाँ बराबरको ४५९ किलोग्राम (केजी) यार्सा नेपालले विदेश निर्यात गरेको हो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २३० प्रतिशतले कम हो ।

२०८० माघ मसान्तसम्ममा नेपालले ६० करोड ६१ लाख ८५ हजार रुपैयाँ बराबरको एक हजार २४६ किलोग्राम यार्सा विदेश निर्यात गरेको थियो । एकवर्षमा यसरी यार्सा निर्यातमा आएको ठूलो गिरावटले निर्यातजन्य वस्तुको अभाव खड्किएको छ ।
खासगरी बहुमूल्य जडिबुटी (कच्चा औषधि) को रुपमा नेपालबाट यार्साको निर्यात हुनेगर्छ । नेपालको हिमाली भेगमा अर्धजीवन र वनस्पतीको रुपमा पाइने यार्साको विश्व बजारमा ठूलो माग रहेको छ ।

भन्सार विभागका अनुसार पछिल्लो ७ महिनामा १० वटा देशमा नेपाली यार्साको निर्यात भएको छ । चीन, हङकङसहित कम्बोडिया, जापान, मलेसिया, सिंगापुर, थाइल्याण्ड, अमेरिका, बेलायत र भियतनाममा नेपाली यार्साको निर्यात भएको छ ।
जसमध्ये समीक्षा अवधिमा सबैभन्दा बढी हङकङले नेपाली यार्साको माग गरेको छ भने दोस्रोमा चीन र तेस्रोमा कम्बोडियाले गरेको छ ।

समीक्षा अवधिमा हङकङ एक्लैले ८ करोड ९५ लाख ४२ हजार रुपैयाँ बराबरको १४४ किलोग्राम यार्सा नेपालबाट लगेको छ भने चीनले ३ करोड ८४ लाख ३९ हजार रुपैयाँ बराबरको १४४ किलोग्राम र कम्बोडियाले एक करोड १३ लाख १८ हजार रुपियाँ बराबरको ५९ किलोग्राम यार्सा लगेको छ । यस्तै सिंगापुरले पनि यस अवधिमा एक करोड ५९ लाख ६२ हजार रुपैयाँ बराबरको २२ किलोग्राम यार्सा किनेर लगेको छ ।